जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् ।

बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेपछि शुक्रबार बिहान मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेको मधेस प्रदेशको संसदिय दलका नेता सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले पदभार ग्रहण गर्दै मधेसको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक संजालसंग जोड्नका लागि मधेशको गौरव आयोजनाको रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

यसका साथैै पछिल्लो सरकारको समयमा भएका कामहरुको समिक्षाका साथै बाँकी योजनाहरुको विषयमा आगामी योजना बनाएर काम गर्ने बताए ।

यता शुक्रबार बिहानै जनमत पार्टी वसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए ।

किसान आन्दोलन जनमत पार्टीले गरेको स्मरण गर्दै उनीहरुको समस्या समाधान नै हाम्रो प्राथमिकतामा रहेको मन्त्री कुश्वाहाले बताए । यसका लागि किसान कार्ड मधेस प्रदेशमा लागु गर्ने योजना रहेको उनले बताए ।

यस अघि कुश्वाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएपनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सामाजिक विकास मन्त्रालयमा अन्य सत्ता साझेदार दलहरुले समेत अडान नछोडेपछि अन्ततः यो मन्त्रालयको जिम्मेवारी कुश्वाहालाई दिइएको हो ।