राजबिराज । ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका छिन्नमस्ता गाउँपालिका २ का ४५ वर्षीय रामदेब मरिककाे किरिया खर्चको लागि मधेस प्रदेशका पुर्व प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक सहयोग गरेका छन् ।

बुधबार पुर्व मन्त्री साहले मरिकाे घर पुगी उनको श्रीमती उर्मिला देवी मरिक र जेठाे छाेरा राजकुमार मरिकलाई शान्तावना दिईदै ११ हजार रुपैयाँ किरिया खर्च सहयोग गरेका हुन ।

सहकारीको ऋण तिर्न नसकेको भन्दै यही माघ १० गते मंगलबार छिन्नमस्ता २ बस्ने मरिकले आफ्नो घर भन्दा करिब ३ सय मिटरको दुरीमा रहेको आँपकाे रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

गत बैशाखमा २० वर्षीय जेठो छोरा राजकुमार मरिकको भारतबाट विवाह गरेका रामदेवले त्यसबेला गाउँमै ब्याजमा ऋण लिएका थिए । त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराउँदै उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए । किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ ।

हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको र किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।

तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको परिवारजनले बताएका छन् ।

यसअघि पनि छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरुले निजको सबै ऋण तिरदिने र छाेरालाई पालिकाकाे कुनै पदमा नाेकरी दिने बाँचा गरेका छन् ।