महोत्तरी :  महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलको निकट मानिएका एका कार्यालय सहयोगीले धाँधली देखाउँदै नगरपालिकामा कार्यरत एक महिला कर्मचारी र कम्प्युटर अपरेटरलाई दुव्र्यवहार गरेका छन् ।

नगरपालिका मातहतमा रहेको गेस्ट हाउसमा कार्यालय सहयोगीको काम गर्दै आएका सुरज मण्डलले मेयर मण्डलको आडमा नगरपालिकामा भइरहेको भ्रष्टाचार, अनियमितता र गलत कामको विरोध गर्नेलाई पटक पटक गाली गलौज, कुटपिट र दुव्र्यवहार गर्दै आएकोमा बिहीबार वडा नम्बर- ७ को वडा कार्यालयमा कार्यरत कार्यालय सहायक चौथो पदकी चन्चल कुमारी र सोही कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर मनोहर कापरलाई दुव्र्यवहार गरेको छ ।

वडा कार्यालयको छेऊमै रहेको गेस्टहाउसबाट दिउँसै मदिरा सेवन गरी बसिरहेका का.स.सुरजले अचानक वडा कार्यालयमा गई त्यहाँ कामकाज गरिरहेकी महिला कर्मचारी चन्चल र कम्प्युटर अपरेटर मनोहरलाई गाली गलौज र धाक धम्की दिँदै दुव्र्यहार गरेका थिए ।

का.स.सुरजले गरेको दुव्र्यवहार सम्बन्धी दुव्र्यवहारमा परेका दुवै कर्मचारीले तत्कालै प्रहरी चौकी मटिहानीलाई खबर गरेपछि त्यहाँबाट आएका प्रहरी टोलीले का.स.सुरजलाई पक्राऊ गरी चौकीमा लगेको प्रहरी चौकी प्रमुख त्रिभुवन साहले बताउनुभयो भने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष कुमार पोखरेलले घटनामा संलग्न का.स. सुरजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी भइरहेको साथै घटनाबारे थप अनुसन्धान समेत भइरहेको बताउनुभएको छ ।

दुव्र्यवहारमा परेका महिला कर्मचारी र कम्प्युटर अपरेटर दुवै जनाले आफूहरुलाई दुव्र्यवहार गरेका का.स.सुरज मण्डलमाथि कडा कानूनी कारबाहीको माँग गरेका छन् ।

यसअघि पनि का.स. मण्डल विवादमा आएपनि मेयर मण्डलले प्रहरी प्रशासनलाई विभिन्न प्रलोभन देखाएर घटनालाई ढाकछोप गर्दै आएका छन् र सोही कारण का.स.मण्डल पटक पटक विभिन्न घटना घटाउँदै धाँधलीको सीमा पार गरेका छन् ।