जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका पूर्व नगर प्रमुख उदयकुमार बरबरिया, उपप्रमुख शिलादेवी कापर, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा, लेखा समितिका संयोजक जैसीलाल भिनावारसहित १२ जनाउपर भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई २ लाख १२ हजार ८१६ रुपैयाँ बढी भुक्तानी गरेको अभियोग पत्रमा उल्लेख छ ।

सुशासन समितिका संयोजक कन्हैया मुखिया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनीयर सञ्जय यादव, ८ नम्बर वडाका तत्कालीन वडाध्यक्ष तनुकलाल कुसियैत, योजना शाखा प्रमुख बिन्देश्वर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखा कुमारी, सचिव मुकेह लखनडे यादवविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

विसरभोरा नहरदेखि गोठ कोयालपुर सीमासम्म कृषि सडक निर्माण गर्दा लागत बढाई, बढाउन लगाई बढी काम गरेको भन्दै गलत प्रतिवेदन बनाई बढी रकम भुक्तानी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।