जनकपुरधाम । स्थलगत निरीक्षणपछि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले खेलकुदको विकासका लागि रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माणमा गति दिन आवश्यक रहेको बताउँदै यसका लागि आफूले पहल गर्ने बताए ।

बुधबार रजौलमा बन्न लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माणका विषयमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सहितका पदाधिकारीहरूले आज स्थलगत अनुगमन गरी जानकारी लिएका छन् ।

यस क्षेत्र तथा देशकै नमूनाको रुपमा बन्ने अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानबाट १७ विघा जग्गा लिजमा लिएर काम अगाडी बढाइए पनि निर्माणको गति सुस्त भएपछि सभामुख मण्डल, प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री मो.जयद आलम तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले स्थलगत निरीक्षण गरी जानकारी लिएका छन् ।

उनले रङ्गशालाको निर्माणले यस क्षेत्रको मात्र नभई राष्ट्रको गरिमा बढ्ने भएकाले तीनै तहका सरकारको प्रयासमा शीघ्र रुपमा निर्माण गर्न सकिने बताए ।

मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री मोहम्मद जयद आलमले रङ्गशालाको निर्माणका लागि मन्त्रालयले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि उचित बजेट व्यवस्थापन गर्ने उनले बताए ।

अनुगमनमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि उपमहानगरपालिकाले प्रयास थालेको बताउँदै चालु आर्थिक वर्षमा मेयर कप गर्नका लागि २० लाख रकम विनियोजन गरेर त्रिक्रेटको पिच निर्माण सहितको काम भइरहेको बताए ।