जनकपुरधाम । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि छलफलमा सुरु भएको छ ।

सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघले सोमबार जनकपुरधाममा निर्वाचनलाई केन्द्रित गर्दै कमिटी गठन गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको विभिन्न कलेजहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ स्थित राजर्षि जनक विश्वविद्यालयमा लोकतान्त्रिक विद्यार्थी संघका सभापति सुशान्त यादवको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।

लोकतान्त्रिक विद्यार्थी संघका नगर अध्यक्ष अमित ठाकुरले स्ववियु निर्वाचनका लागि लोसपा नेपालको भातृ संगठन ‘लोकतान्त्रिक विद्यार्थी संघ’ लाई आवश्यक तयारी गर्न र विशेष रुपमा सक्रिय भइ चुनाव जिताउनका लागि निर्देशन बमोजिम आफूहरु तयारीमा जुटेको जानकारी दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको गाँउपालिका/नगर/महानगर/जिल्ला/प्रदेश समिति तथा पार्टीका सम्पूणर् नेता/कार्यकताहरुलाई विद्यार्थी चुनाव सम्बन्धी योजना एवम् कार्यक्रम बमोजिम लोकतान्त्रिक विद्यार्थी संघका साथिहरुसँग समन्वयको साथै आवश्यक पहल र सहयोगका लागि पार्टीले जारी गरेको परिपत्र अनुसार निर्वाचनमा केन्द्रित भएको उनले बताए ।

सोमबारको कार्यक्रममा लोसपा नेपाल धनुषाका सह-सचिव सुनिल श्रेष्ठ (सानु), लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झा, कार्यवाहक अध्यक्ष त्रिदेव मिश्रलगायतको उपस्थिति रहेको थियो ।