जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाको राजदेवी मन्दिरबाट चांदीको मूर्ती, मुकुट, थालसहितका समान लुट्ने गिरोहका ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपालिका ४ सुन्दरपुरका २९ वर्षीय मोहमद हबगुल्ला साह, सोही ठाउका २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपालिका ७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो छन् ।
लुटपाट गर्दा उनीहरुको अनुहार सीसीटीभी क्यामेरामा कैद भएको थियो । सीसीटीवी फुटेजकै आधारमा उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
लुटपाट गरेका समान, एक थान पेस्तोल र खुकुरीसहितका हरेलु हतियार समेत बरामद भएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए । उनले उनीहरुमाथि अनुसन्धान गरिरहेको र थप व्यक्तिको संलग्नता देखिए उनीहरुलाई पनि पक्राउ गरी कारबाही गरिने बताए ।
उक्त मन्दिरमा पांचौं पटक मूर्ती र अन्य समानहरु चोरी भइरकेको छ । पछिल्लो पटक फाल्गुन १४ गते राति पक्राउ परेकाहरु हतियारसहित पुगेर मन्दिरमा लुटपाट गरेका थिए ।