सप्तरी। सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई प्रतिवाद गरेका थिए ।जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक संजालमा सार्वजनिक भएको थियो ।

सो घटना पश्चात प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार प्रहरीजवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ ।भिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए ।

उनीहरुलाई पनि कारबाही गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।