जनकपुरधाम । मौसममा देखिएको अनुकूलता तथा बढी मात्रमा आँपको रुखमा मजर लागेकाले यस वर्ष धनुषामा वृद्धि हुने अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्रले आँपको लागि यस वर्ष मौसम अनुकूल रहेको र विगतको भन्दा यस वर्ष बढी जग्गामा आँप खेती गरिएकोले आँप उत्पादनमा वृद्धि हुने जनाएको छ ।

चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरुले आँप खेती गरेको र अहिले आँपका रुखहरुमा देखिएको मजरले करीब २३ हजार १ सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको केन्द्रका बागवानी अधिकृत प्रदीप कुमार यादवले बताए ।

गत आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९ सय ७० हेक्टर क्षेत्रफलमा आँप खेती गरेकोमा २२ हजार ७ सय ५० मेट्रिक टन आँप उत्पादन भएको थियो । तर यस वर्ष आँपको क्षेत्रफल पनि बढेको, मौसम पनि अनुकुल रहेकोले यही अवस्था रहेमा यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने अनुमान रहेको उनले बताए ।

आँप खेतीबाट पनि राम्रो आम्दनी हुने गरेकोले किसानहरुले आँप खेति तर्फ पनि आकर्षित हुने गरेको उनले बताए ।

जिल्लाका गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, वटेशर गाउँपालिका आँप उत्पादनको पोकेट क्षेत्र घोषणा गरिएको र त्यस पालिकाहरुमा जिल्लाका अन्य पालिकाभन्दा बढी आँप उत्पादन हुदै आएको उनले बताए । जिल्लाका अधिकांश ठाउँमा आँप उत्पादन हुने गरेको उनले बताए ।

धनुषाका खास गरी मालदह, बम्बै, दशहरि, मलिका, कलकतिया, अमरपालीलगायतका विकसित आँप बढी उत्पादन हुने गरेको छ । धनुषामा उत्पादन भएको आँप काठमाण्डुसहित देशको विभिन्न शहरहरुमा बिक्री हुने गरेको स्थानीय किसानको भनाइ छ ।