बारा । जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औँ संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ ।
सिमरा रङ्गशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिता बारे सोमबार आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
प्रतियोगितामा ५ ए डिभिजन क्लब र ५ मोफसलका गरी १० टिमको सहभागिता रहनेछ ।
साविक विजेता न्यू रोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो यूथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड क्लब र आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगिता खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रङ्गशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजकले जनाएको छ ।
Discussion about this post