जनकपुरधाम, फागुन ३० गते ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले सहमतिको वातावरण निर्माण नगरी उल्टै ताला फोडेर दादागिरी प्रवृति देखाएको वडाध्यक्षहरुले आरोप लगाएका छन् ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले मंगलबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरेका छन् ।

आफूहरूले कार्यालयमा लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाउँदै उनीहरूले मंगलबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरेका छन् ।

आफूहरूले तालाबन्दी गरेको दुई दिनपश्चात गाउँपालिका अध्यक्ष  मिश्रले सम्पूणर् जनप्रतिनिधिलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै समन्वय नगरेकोले बाध्य भएर गाउँपालिकाको कार्यालय अगाडि मंगलबारदेखि धर्ना दिन सुरु गरेको वडा नम्बर-१ का वडाध्यक्ष दिलीप यादवले बताए ।

गत फागुन १४ गते प्रमुख प्रशासकीय अधिकृत र लेखाशाखाको कर्मचारीको कार्यकक्षमा वडाध्यक्षहरूले लगाएको ताला फोडेर कार्यालयका महत्वपूणर् सामानहरू हिनामिना गरिएको वडाध्यक्ष यादवले आरोप लगाएका छन् ।

वडाध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृत यादवले ताला फोडेर सामानहरू हिनामिना गरेको आरोप लगाएका छन् । उनले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत यादवले बिना कुनै जनप्रतिनिधिको रोहबरमा ताला फोडेर कार्यालयका सामानहरू हिनामिना गरेको आरोप लगाएका छन् ।

तालाबन्दी गरेको १५ दिन वितेपनि सहमतिमा नआई गत आइतबार प्रमुख प्रशासकीय अधिकृत यादवले स्थानीय प्रशासनको रोहबरमा आफूहरूलाई कुनै जानकारी नै नदिइ उल्टै ताला फोडेको वडाध्यक्ष यादवको गुनासो छ ।

नेकपा एमालेबाट निर्वाचित वडा नम्बर-१ का वडाध्यक्ष दिलीप यादव, वडा नम्बर-२ का वडाध्यक्ष लालजी साह, ५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर-६ का वडाध्यक्ष महावीर साह, वडा नम्बर-७ का वडाध्यक्ष गंगा साहलगायत ६ जना कार्यपालिका सदस्य र ८ जना वडा सदस्यहरूसहित १९ जना मंगलबारदेखि धर्नामा बसेका छन् ।

वडाध्यक्ष दिलीप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकिय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरू धर्नामा बसेको बताए ।

उनले भने, ‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम ? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन् । जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौं । समस्या समाधान नभए भोलिको दिनमा हामी अझ सशक्त आन्दोलन गर्नेछौं ।’

उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निणर्य गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाए ।

वडाध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिएपनि नतिजा प्रकाशन थर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाए ।

वडाध्यक्ष यादवले सरूवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सबिर महतोलाई गाउँपालिका अध्यक्ष मिश्रले हाजिरसमेत हुन नदिएको आरोप लगाएका छन् ।