जनकपुरधाम, ३ गते।
मिथिला नगरपालिका -८, ढल्केवरमा अत्याधुनिक नाटक घर बन्ने भएको छ । कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो नाटक घरको शिलान्यास गरिएको छ ।
शुक्रबार मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले नाटक घरको शिलान्यास गरेका छन् ।
नगर प्रमुख महतोले शिलान्यासमा मात्रै सीमित नराखी छिटोभन्दा छिटो नाटक घर निर्माण गर्न सुझाव दिए । समाज परिवर्तनमा नाटकको महत्वपूणर् भूमिका हुने हुँदा नाटक घर बनाउन नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उनले बताए ।
मिथिला नगरपालिकाले उपलब्ध गराएको तीन कठ्ठा क्षेत्रफलमा आधुनिक शैलीमा निर्माण हुने नाटक घर बन्न लागेको छ । मधेश प्रदेशमा ख्याती कमाएका रोचक एण्ड घोचक नाट्य समूहले सो नाटक घर बनाउन लागेको छ ।
करीब एक करोड रुपैयाँको लागतमा चारसय सिट क्षमताको सुविधा सम्पन्न नाटक घर निर्माण हुने रोचक एण्ड चोचक नाट्य समूहका अध्यक्ष प्रदीप महतोले बताए । नाटक घरमा प्रकाश, ध्वनिको उच्चतम प्रविधिको प्रयोग गरिने छ ।
अध्यक्ष महतोले मधेश प्रदशकै सबभन्दा ठूलो नाटक घर बन्ने बताउँदै निर्माणमा लाग्ने खर्च स्थानीय तह तथा विभिन्न दातृ निकायबाट सहयोग सङ्कलन गरिने बताए ।
मिथिला नगरपालिका- ८ का वडाध्यक्ष वीरेन्द्र महतोले वडा विकास योजनाबाट उपलब्ध गराएको पाँच लाख रुपैयाँबाट निर्माण सुरु गरिने जानकारी दिए ।
Discussion about this post