जनकपुरधाम । मधेश प्रदेशसभाको शुक्रबार बसेको बैठकमा समानुपातिक महिला सांसदहरुले नेकपा एमालेका सांसद लखन दासले विभेदपूणर् अभिव्यक्ति दिएको भन्दै नियमापत्ति जनाएका छन् ।
बिहीबार सांसद दासले प्रत्यक्षबाट निर्वाचित सांसदको संसदीय कोषको रकम सात करोड र समानुपातिको लागि तीन करोड रकम बढाउनुपर्ने माग गरेर समानुपातिक सांसदबारे विभेदपूणर् टिप्पणी गरेको भन्दै समानुपातिक महिला सांसदहरुले नियमापत्ति जनाएका छन् ।
जनता समाजवादी पार्टीका सांसद ललिता दास (विद्रोही)ले नियमापत्ति जनाउँदै समानुपातिक प्रणालीलाई गलत भन्नु र समानुपातिक सांसदलाई दिइने बजेटबारेको विभेदपूणर् अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने माग गरिन् । विद्रोहीसहितका महिला सांसदहरुले एकै स्वरमा विरोध जनाएकी थिइन् ।
जुन निर्वाचन प्रणालीबाट समानुपातिक सांसदको चयन भएको सोही निर्वाचन प्रणालीमै प्रश्न चिह्न उठाउनु कतिको जायज छ भन्ने प्रश्न गर्दै सांसद विद्रोहीले भनिन्,‘देशमा विभिन्न संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो, विभेद हटाउनका लागि यो अभ्यास भइरहेको छ । र सांसदज्युहरुबाटै यस्ता विभेदपूणर् अभिव्यक्ति आउनु दुर्भाग्यपूणर् छ।’
‘समानुपातिक संसदहरुलाई हेपेर कुरा गर्ने होइन । यदि प्रत्यक्ष चुनावमा खर्च हुन्छ भने त्यो कहाँ लेखेको छ कि ठूलो रकम खर्च गर्नु नै पर्छ । तर पनि समानुपातिक व्यवस्थाबाट सरकारद्वारा नै उत्पीडनहरु भोग्दै आएका छौं त्यसको क्षतिपूर्ति हो, समानुपातिक । र हामीसंग पनि समानुपातिक सांसद झैं व्यवहार गरियोस भन्ने हामी चाहन्छौं ।’
सांसदहरुलाई रुलिंग गर्दै सभामुख रामचन्द्र मण्डलले समानुपातिक र समावेशी देशकै अंग बनिसकेको बताए । विचार राख्न कुनै रोक नरहेको भए पनि आपत्तिजनक अभिव्यक्ति दिन नहुनेमा कुनै विमत्ति नरहेको उनको कथन थियो ।
सांसदहरुसंग त्यो विषय वस्तुमा छलफल गर्ने गरी अहिलेलाई सदनको कारबाही अगाडि बढाउन उनले आग्रह गरेका थिए ।
सांसद मोहम्मद समिरले विशेष समयमा बोल्दै मधेश प्रदेश नामकरण भएको लामो समय बितिसक्दा पनि सरकारको विभिन्न स्थानमा अझै पनि दुई नम्बर प्रदेश लेखिनु दुखद कुरो रहेको बताए ।
सांसद जनाद्र्धन सिंह क्षेत्रीले मधेश प्रदेशलाई समृद्ध बनाउन भौतिक विकास मात्र होइन पर्यटकीय विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
पर्यटन व्यवसायलाई अगाडि बढाउनका लागि प्रदेश सरकारले यथोचित कदम चाल्नुपर्ने माग उनले गरे । समाजमा अनुशासन र संस्कार विकासको लागि खेलकुद अत्यन्त आवश्यक रहेको भन्दै उनले आगामी वर्षदेखि हरेक विधानसभा क्षेत्रमा एउटा एउटा खेल मैदान निर्माण गर्न प्रदेश सरकारसंग आग्रह गरे ।
जसपाका सांसद मनिष सुमनले सत प्रतिशत सांसदले दिएको समर्थनबाट बनेको प्रदेश सरकारले पाएको अवसरलाई प्रयोग गर्नबाट सरकार चुकेको बताए ।
उनले विगतमा प्रदेशसभामा बनेको विभिन्न छानबिन समितिहरुको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग समेत गरे ।
सांसद सतीश कुमार सिंहले कृषि क्षेत्रमा एक अर्ब ८० करोड बजेट रहेको र सो प्रदेशका विभिन्न १२ सय ७० वार्डमा प्रत्येक वार्डमा एउटा बोर्डिंगसमेत दिन नसक्ने बताए ।
‘एउटा डीप बोडिंग निर्माण गर्दा ७०/८० लाखको बजेट खर्च हुन्छ,लेकिन हाम्रो बजेटलाई प्रत्येक वार्डमा भाग गरेर हेर्ने हो भने जम्मा १५ लाख रकम हुन जान्छ यसमा के गर्ने ?।’उनले भने,‘यति सानो बजेटमा किसानको लागि कहाँबाट मल ल्याउने कहाँबाट बीउ बिजन ल्याउने ।’
Discussion about this post