जनकपुरधाम । जनकपुरधाममा सोमबारदेखि महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता हुन लागेको छ ।

क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा हुन लागेको टी-२० प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी रहने आयोजकले जनाएको छ ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतले यस प्रतियोगितामा मधेश प्रदेशसहित सातै प्रदेशको टिम सहभागी हुने तथा जेठ २६ गतेसम्म प्रतियोगिता हुने जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख र रनरअप हुने टिमका लागि २ लाखको पुरस्कार रहेको अध्यक्ष भगतले बताए ।

प्रतियोगितामा ७० लाख खर्च हुने अनुमान गरिएकोमा मधेश सरकारले ४० लाख रुपैयाँ दिने अध्यक्ष भगतले बताए ।

यस्तै, प्रतियोगिताको प्रत्यक्ष प्रसारणमा खर्च हुने पाँच लाख क्यानले दिने र बाँकी रकम विभिन्न स्पोन्सरहरुबाट संकलन गरिने उनले बताए ।
जनकपुरधाम स्थित निर्माणाधीन रामजानकी बहुउदेश्यीय रंगशालामा प्रतियोगिता हुने भएको छ ।