जनकपुरधाम । ‘सबैको लागि नाना सबैको लागि खाना हाम्रो चाहना’ मूल नाराकासाथ एक वर्ष पूर्व जनकपुरधाममा स्थापना भएको मानव सेवा आश्रमको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
जनकपुरधाम-१२ कुवारामपुरमा रहेको केन्द्र परिसरमा आइतबार एक समारोहको आयोजना गरी वार्षिकोत्सव मनाइएको छ ।
सो कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानवको सेवा नै सबै भन्दा ठूलो धर्म रहेको बताएका छन् ।
मानव सेवा आश्रमले सडक आश्रित बन्न पुगेकाहरूका लागि गरिरहेको उद्धार कार्यको जति प्रशंसा गरे पनि कम हुने सभामुख मण्डलको धारणा छ ।
मानवको समृद्धिप्रति मधेश सरकार गम्भीर रहेको बताउँदै उनले भने,‘अब आउने नीति तथा कार्यक्रममा यस विषयलाई समावेश गर्न सुझाव दिनेछु ।’
भवनको अभावमा आश्रमले खेप्दै आएको समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले केन्द्रको आफ्नै भवन निर्माणका लागि प्रदेश सरकार समक्ष आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बिना विभागीय मन्त्री महेश यादवले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ऐन केन्द्रमै अल्झिएकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको स्विकार गरे ।
सरकारको आगामी नीति तथा कार्यक्रममा मानव सेवा आश्रमको विषयलाई प्राथमिकताका साथ राखिने उनले प्रतिबद्धता व्यक्त गरे ।
राज्यले गर्नुपर्ने काम मानव सेवा आश्रमले गर्दै आएको प्रति धन्यवाद दिँदै उनले भने,‘सेवा आश्रम संचालनका लागि प्रदेश सरकारको तर्फबाट गर्न सकिने सम्पूणर् सहयोग गर्न हामी प्रतिबद्ध छौं।’
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले मधेश प्रदेशको विकासमा गुठी संस्थान बाधक बनिरहेको आरोप लगाए ।
गुठीसम्बन्धी ऐन ल्याउन प्रदेश सरकारसंग आग्रह गर्दै उनले भने,‘अहिले मानव सेवा आश्रमलाई गुठीले सजिलै जग्गा दिन सक्छ तर त्यो हुन सकेको छैन तसर्थ गुठी सम्बन्धी ऐन ल्याएर भए पनि यस्तो समस्याको निराकरण गर्नु पर्छ।’
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली सेनाका पृतनापति प्रेमध्वज अधिकारी, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवसहितकाले मानव सेवाको विषयमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा मानव सेवा आश्रम जनकपुरधामलाई सहयोग गरेका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।
मानव सेवा आश्रम जनकपुरधाममा अहिले ६५ जनाले सेवा जानकारी दिइएको छ । एक मुठी चामल भन्ने सहयोगको नाराका साथ अगाडि बढेको यो सेवा केन्द्रको आफ्नै भवन निर्माणका लागि सम्बन्धित सबै पक्षले पहल गर्नु पर्ने आग्रह समेत अध्यक्ष अधिकारीले गरेका छन् ।
Discussion about this post