जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको कित्ता काट खुलाएको छ ।
जलेश्वर नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै जलेश्वर नगरपालिका क्षेत्रभित्रको ‘भू-उपयोग क्षेत्र वर्गीकरण’ गर्दै कित्ता काट खुलाएको मेयर सुरेश साह सोनारले जानकारी दिए ।
भू-उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी जलेश्वर नगरपालिकाको स्थानीय भू-उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको मेयर साहले पत्रकारहरुबीच सार्वजनिक गरे ।
जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ ३१३५.८९ हेक्टर, व्यवसायिक क्षेत्रतर्फ ७५.३४ हेक्टर, साँस्कृतिक क्षेत्रतर्फ ८.४७ हेक्टर, नदीजन्य/पोखरी क्षेत्रतर्फ १०६.२७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ १७.२६ हेकटर, सार्वजनिक क्षेत्रतर्फ १७६.११ हेक्टर र आवासीय क्षेत्रतर्फ ९०३.३५ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।
जलेश्वर नगरपालिकाले वर्गीकरण गरेको जग्गाहरु जम्मा ६२ हजार कित्ता रहेको र सोमाबरदेखि सबै जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी गराइएको छ ।
जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, इञ्जिनियर पवन कुमार झा, अमिन रामजीवन साह, नापी कार्यालयका प्रतिनिधि अधिकृत ज्ञानकुमार यादवसहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
जग्गा कित्ताकाट रोकिएको कारण वर्षौदेखि सास्ती भोग्नुको साथै विभिन्न कामहरु गर्न/गराउन नपाएका जलेश्वर नगरवासीहरुले सोमबारदेखि जग्गा सम्बन्धी कामहरु गर्न पाउने भएका छन् ।
Discussion about this post