जलेश्वर । महोत्तरीको जलेश्वरमा विगत ६ दिनदेखि जारी रहेको संसारीमाइको पूजामा आज (शुक्रबार) बलिप्रदान हुने भएको छ ।
‘संसारी माई महापूजा’ नाराकासाथ यस वर्ष पूजा पाँच वर्ष पछि आयोजना गरिएको छ । ‘पहिला पहि ला यो पूजा प्रत्येक १२ वर्षमा हुने गरेको थियो’,मुख्य पुजारी महेन्द्र मुखिया भन्छन् ।
विस्तारै पुजारीकै सपनामा आएर संसारीमाइले यसको समय घटाउन भनेको र त्यसपछि सात/सात वर्षमा र यस वर्ष यो पूजा पाँच वर्षको अन्तरालमा आयोजना गरिएको उनले जानकारी दिए । ६ वटा पूजा ७/७ वर्षमा भएको र तीनवटा ५/५ वर्षमा भएको स्थानीयवासीहरुले बताए ।
पूजाको अवसरमा जलेश्वरमा भव्य मेलाको आयोजना गरिएको छ । संसारीमाइसंग भाकल गरेकाहरुले शुक्रबार बलिप्रदान गर्नेछन् ।
यहाँ पूजा गरे महामारी रोकिन्छ भन्ने जनविश्वास रहिआएको छ । कुनै बेला रोगबाट बच्ने सहारा नै संसारी माई बनेकी थिइन् भन्ने पुजारी मुखियाको कथन छ ।
जुनसुकै जात वा धर्म मान्ने पनि निर्धक्क संसारीमाईको मन्दिरसम्म पुग्न सक्ने बताउँदै उनले भने,‘ भक्तजनहरुले मनका भारी संसारी माई अगाडि बिसाउँछन् । मागेको कुरा पुगेर नै बर्षेनि यो स्थानको दर्शन गर्नेको संख्या बढ्दो छ ।
भारतसँग सीमाना जोडिएकोले पूजामा पुग्ने दर्शनार्थी नेपालीभन्दा भारतीय नै धेरै रहने गरेको छ । घरको एउटा सानो कुनाबाट शुरु भएको पूजा अहिले बृहत् बनेको पुजारी मुखियाले जानकारी दिए । ‘पहिले हाम्रा जिजुबाजेले घरमै एउटा थान बनाएर पूजा गरेको भनिन्छ ।
अहिले पनि हामी मुख्य थान त्यहीँ घरकोलाई मान्छौं। मुख्य पूजा यहाँबाट ( मौला )बाट नै ुशरु हुन्छ । यहाँबाट धामीमा माताको प्रवेश भएपछि वरुण सर (सरोबर)को किनारमा रहेको मन्दिरमा पुगेर पूजा हुन्छ र बलि चढाउन थालिन्छ।’,उनले प्रष्ट्याए ।
‘कुरो २०२० सालतिरको हो । गाउँघरमा पहिला हैजा आउँथ्यो, मर्की उठ्थ्यो । धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो । यस्तो भएको समयमा चार/पाँच दिन महारानी (संसारी माई) गाउँका व्यक्तिमा आएकी थिइन्।
गाउँका सबै मान्छे जम्मा भए । उनीहरूले महारानीको कुरा सुने र त्यसैअनुसार गरेकाले महरानीको पूजा गाउँभरिकाले गर्न थालेको थियो ।’ पुजारी मुखियाले प्रष्ट पारे ।
यहाँ तोकिएको महापूजा भने पुजारीको घरबाट नै शुरुवात गर्ने चलन रहेको छ । त्यसैले गाउँलेले पुजारीको घरलाई मुख्य आस्थाको केन्द्रका रूपमा हेर्छन् । वरुण सरको डिलमा रहेको संसारी माईको मन्दिरमा भने आस्थामा दिनदिनै वृद्धि भएर गएको छ ।
मुख्य पुजारी मुखिया भन्छन्, ‘पूजाको शुरुआत मेरो घर(जलेश्वर-६) बाट हुन्छ । घरमा विरी सलामी दिइन्छ । त्योभन्दा पहिला १० दिन अघिदेखि गीतनाद हुन्छ । गीतहरनीहरूले संसारी माईको महिमाको गीत गाउने गर्छिन् र भक्तीगानमा रमाउने गरेका छन् ।
त्यसै गरी संसारीमाईलाई पञ्चबलि दिने परम्परा रहेको छ । बोका, परेवा, भेँडा, सुँगुर, कुखुरा र राँगाको बलिसमेत चढाइने गरिएको बताइन्छ ।
पूजाको अवसर बाहेक अन्य दिनमा पुजारीको घरमा बोका चढाइन्छ । चैत्र, पुस, भदौ बाहेकको महिनामा संसारीमाईलाई बलि दिइने गरेको छ ।
Discussion about this post