कमलेश मण्डल
जलेश्वर । महोतरीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि वृतचित्र बनाउने नाममा बेथिति बढेको छ ।
वृत्तचित्रको औचित्यदेखि स्तरसम्म ख्याल नगरी हचुवाका भरमा लाखौं रुपैयाँ खर्च भइरहेको छ ।
आफ्नो क्षेत्रभित्रको सामाजिक सांस्कृतिक भौगोलिक आर्थिक पर्यटन पूर्वाधारका प्रगतिलाई समेटेर वृत चित्र निर्माणका लागि महोतरी गाउपालिकाले शान्ति विकास निर्माण संस्थालाई ११ लाख ९३ हजार २ सय ८० रुपैयाँ जलेश्वर नगरपालिकाले संसारी मिडिया हाउस प्रा.लि लाई चार लाख उनान्सय हजार रुपैयाँ एकडारा गाउपालिकाले खबरवेभ मिडिया प्रा.लि.लाई ४ लाख ९७ हजार २ सय रुपैयाँ मटिहानी नगरपालिकाले युनियन प्रेस जनकपुरलाई ४ लाख ९७ हजार,औरही नगरपालिकाले अनुप जनकपुर मिडिया प्रोडक्सन हाउस प्रा.लि लाई ३ लाख ९९ हजार ५ सय रुपैयाँ भुक्तानी दिइएको देखिन्छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ मा सार्वजनिक निकायले कुनै पनि खरिदका लागि तोकिएको लागत अनुमान तयार गरी अद्यावधिक गर्नुपर्ने उल्लेख छ । साथै नियमावलीको नियम १२ मा परामर्श सेवा लागत अनुमान गर्दा सम्बन्धित मन्त्रालयको नम्र्स परामर्श सेवाको कार्य क्षेत्रगत सर्त सोही प्रकृतिको खरिद गरी वास्तविक लागत लगायतलाई आधार लिइ अनुसूची १ का आधारमा तयार गर्नुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९मा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा स्थानीय तहले आफनो क्षेत्रभित्रको सामाजिक सांस्कृतिक भौगोलिक आर्थिक पर्यटन पूर्वाधारका प्रगतिलाई समेटेर वृत्तचित्र निर्माण गर्दा लागत अनुमान तथा कार्य क्षेत्रगत शर्त तयार नगरी सोझै खरिद गरिएको यो नियम विपरीत हो ।
स्थानीय तहहरुले वृत्तचित्र बनाउने भन्दै लाखौँ रुपैयाँ खर्च गरेको छ । तर अहिले जनप्रतिनिधि नै बेकारमा पैसा खेर फालियो भन्दै पश्चाताप गरिरहेका छन् । यत्रो रकम खर्च गर्दा पनि वृत्तचित्रको नाममा झारा टार्ने काम भएको छ । जलेश्वर नगरपालिका मेयर सुरेश साह सोनारले मैले थाहा पाउने वितिकै विरोध त गरे, तर रकम भुक्तानी भइसकेको रहेछ,वृत्तचित्र खोजेपछि कार्यालयमा भेटेन ।
स्थानीय युवा नवीन कुमार नवलले वृत्तचित्रमा महोतरी गाउँमा भएका पोखरीलगायतका सम्पदाहरू नसमेटिएको बताउँछन् । महोतरी जिल्लाको नाम नै मदोदरी पोखरीको नामबाट नामाकरण गरिएको महोतरीमा सानो रकमको पनि ठूलो महत्व छ उनले भने तर जनप्रतिनिधिले आफ्ना गल्ती ढाकछोप गर्न वृत्तचित्रका नाममा मनलाग्दी खर्च गरेका छन् ।
महोतरी गाउँपालिकामा दुई पटक वृत्तचित्रमा ११ लाख ९३ हजार २ सय ८० रुपैयाँ खर्च भयो । तर त्यति गर्दा पनि स्थानीय पुरातात्विक तथा ऐतिहासिक स्थल समेटिएका छैनन् । महोतरीमा १५ स्थानीय तह छन् । प्राय सबैले वृत्तचित्रका नाममा रकम विनियोजन गरेका छन् ।
वृत्तचित्र निर्माणको जिम्मा भने पत्रकारले लिएका हुन्छन् । कतिपय स्थानीय तहमा त पत्रकारले नै वृत्तचित्रको शीर्षकमा बजेट छुटयाउन दबाब दिने गरेको बताइन्छ ।
पत्रकारले वृत्तचित्र बनाउनुपर्यो भन्दै अनुरोध गर्छन कसैले त दबाबै दिन्छन् एक गाउँपालिका अध्यक्षले भने पत्रकारलाई रिसाउन लगाउनुभन्दा त काम दिनु नै ठीक लाग्छ । वृत्तचित्रका कारण कार्यपालिका बैठकदेखि गाउँसभामै विरोध हुने गरेको उनले बताए ।
सामान्यत एउटा वृत्तचित्र बनाउन करीब ६ महिना लाग्छ । त्यसका लागि उच्चस्तरीय क्वालिटीको भिडियो क्यामेरा आवश्यक पर्छ । तर महोतरीमा कमिशनको लोभमा कर्मचारीसँग मिलेमतो गरी दुई-तीन दिनमै वृत्तचित्र तयार गरिन्छ । भिडियो क्यामेरा नहुँदा मोबाइलले खिचेरसमेत काम चलाउने गरिएको छ वृत्तचित्र निर्माणको जिम्मा लिएका एक पत्रकारले भने हामीले समय अभावका कारण सबै वडामा नपुगेरै वृत्तचित्र बनाउनुपर्यो ।
बर्दिवास नगरपालिकाले भने वृत्तचित्र शीर्षकमा बजेट छुटयाएको छैन । नगरप्रमुख प्रहल्द क्षेत्रीले स्तरीय वृत्तचित्र बनाउन सबै प्रक्रिया पुर्याइ पर्याप्त बजेट आवश्यक पर्ने भएकोले अहिलेलाई यतातिर ध्यान नदिइएको बताए ।
बर्दिवास नेपालकै एक प्रमुख शैक्षिक व्यापारिक र पुरातात्विक स्थल हो हचुवाको भरमा वृत्तचित्र बनाएर बजेट किन खेर फाल्ने ? उनले भने त्यसैले हामीले पञ्चवर्षीय योजना बनाएर वृत्तचित्रलाई यसमै समावेश गर्ने सोच बनाएका छौं ।
तर सेवा परामर्श तथा सञ्चार शीर्षकको बजेटबाट वृत्तचित्र बनाउने निणर्य यहाँका प्रत्येक स्थानीय तहले गर्ने गरेका पाइएको छ ।
स्थानीय वासिन्दा जनप्रतिनिधि र पत्रकारको मिलेमतोमा वृत्तचित्रमा बजेट दुरुपयोग हुँदा गलत प्रवृत्ति बस्नेमा चिन्ता व्यक्त गर्छन् ।
Discussion about this post