जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको चारनाथ खोलामा भइरहेको ग्राभेल उत्खननमा स्थानीयवासीले रोक लगाएका छन् ।
खोलामा पानीको बहाव बनाउने बहानामा खोलाबाट खनिएको ग्राभेल अन्यत्र लगेको पाएपछि स्थानीयले रोक लगाएका हुन् ।
सोमबार बिहान कमला नदी अवैध उत्खननविरुद्धका संघर्ष समितिका संयोजक बाली शर्मासहितका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिका श्रीराम टोलका सयौं जनाले खोला पुगेर तत्काल खोला खन्न रोक लगाएको बताइएको छ । उनीहरु खोलामा पुगेपछि खोलामा रहेका टिपरको भागाभाग भएको थियो ।
खोलामा २० देखि २५ फिट चौडाइ तथा १५ देखि २० फिट गहिराइसम्म ग्राभेल खनिएको स्थानीयवासीको भनाइ छ । खनिएको ग्राभेल खोला क्षेत्रमै राख्नुपर्नेमा टिपरमा लोड गरेर अन्यत्र ओसारिएको दाबी उनीहरुको छ ।
सरकारी साधन स्रोतमा अवैध उत्खनन भइरहेको बताउँदै उनीहरुले गणेशमान चारनाथ नगरपालिकाका मेयर जितनारायण यादव र उपमेयर तुलसा पाण्डेको मिलेमतोमा यी कार्य भइरहेको आरोपसमेत लगाए ।
गणेशमान चारनाथ नगरपालिकाका मेयर यादवले जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशन अनुसार चारनाथ पुलेदेखि झण्डै डेढ किलो मिटर दक्षिणसम्म खोलामा पानीको बहाव बनाउन खोला खनिएको बताए । नगरपालिकाको साधन स्रोतमा खोलाको दुई भागमा पानीको बहान बनाउने कार्य भइरहेको बताउँदै उनले एक चम्चा बालुवासमेत खोलाभन्दा बाहिर नगएको दाबी गरे ।
सस्तो लोकप्रियता कमाउन विपक्षी दलका कार्यकर्ताले झूठो हल्ला फैलाएको मेयर यादवको भनाइ छ । उनले भने, पुल वरिपरि तथा खोलामा गिट्टी बालुवा थुप्रिएर खोलाको सतह माथि उठेको छ । वर्षा तथा बाढीको समयमा पुल जोखिममा पर्ने र दक्षिणी भेगका आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा रहेकाले खोलामै नहर आकारमा पानीको बहाव बनाउने कार्य भइरहेको जनाए ।
कमला नदी अवैध उत्खनन विरुद्धका संघर्ष समितिका सचिव कपिल न्यौपानेले जिल्ला विपद् व्यवस्थापन समितिको पत्रअनुसार पुलको उत्तर र दक्षिण भागमा तीन-तीन सय मिटर मात्रै खन्न भनिएको छ । तर, यहाँ झण्डै दुई किलो मिटर परसम्म खनिएको छ त्यो पनि २०-२० फिट गहिरो । पानीको बहाव बनाउने हो भने यति गहिरो किन ? पानीको बहाव बनाउने नाउमा अवैध उत्खनन मौलाएको उनले बताए ।
Discussion about this post