संजीत मंडल
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका मेयर सुरेश साह सोनारले आर्थिक वर्ष २०८०।०८१ को लागि ७१ करोड रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ ।
जिल्लाको सदरमुकामको मेयर रहनु भएको सुरेश साह सोनारले जलेश्वर नगरपालिकाको ११ औं नगरसभामा आर्थिक वर्ष २०८०।०८१ लागि ७१ करोड ५३ लाख ८० हजार रुपैयाको बजेट प्रस्तुत गर्नुभएको हो ।
देश संघीय संरचनामा गइसकेको अवस्थामा जलेश्वर नगरपालिकाले प्रस्तुत गरेको अनुमानित आयहरुको विवरण पनि सोही संरचना अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहमा वर्गीकरण गरेर प्रस्तुत गरेको छ ।
प्रस्तुत बजेटमा नेपाल सरकारबाट प्राप्त हुने आय रकम रु.६४ करोड ३७ लाख ५ हजार रहेका छन् ।
जसमध्ये संघीय समानिकरण अनुदानतर्फ १५ करोड ४१ लाख, संघीय सशर्त अनुदान चालुतर्फ ३२ करोड ९५ लाख, संघीय सशर्त अनुदान पूँजिगततर्फ ३ करोड, विशेष अनुदान चालुतर्फ ५० लाख, विशेष अनुदान पूँजीगततर्फ ७४ लाख, समपुरक अनुदान पूँजीगततर्फ ६० लाख र संघीय राजस्व बाँडफाँडतर्फ ११ करोड १७ लाख ५ हजार रुपैया रहेका छन् ।
त्यस्तै मधेश प्रदेश सरकारबाट प्राप्त हुने आय रकम रु.२ करोड १६ लाख ६५ हजार रुपैया रहेका छन् ।
जसमध्ये वित्तिय समानिकरण अनुदानतर्फ १ करोड १६ लाख ७५ हजार, समपुरक अनुदान पूँजीगततर्फ २० लाख, विशेष अनुदान चालुतर्फ ३० लाख र प्रदेश राजस्व बाँडफाँडतर्फ ५० लाख रुपैया रहेको बजेटमा उल्लेख छ ।
त्यसैगरी जलेश्वर नगरपालिकाले स्थानीय सरकार अन्तर्गत रु.५ करोड अनुमानित आय विवरण प्रस्तुत गरेको छ । जसमध्ये आन्तरिक स्रोतबाट ४ करोड र बैंक मौज्दात रु.१ करोड रहेको बजेट विवरण प्रस्तुत गरेको छ ।
नगरप्रमुख सुरेश साह सोनारले प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रमा विशेष जोड दिइएको छ भने नगरको चौतर्फी विकासका लागि हरेका क्षेत्रमा आवश्यकता अनुसारको बजेट विनियोजन गरिएको हो ।
बजेट प्रस्तुत गर्नुहुँदै मेयर सोनारले आफुले जितेर आएपछि नगरको विकासका लागि अहोरात्र खटिरहेको र १ देखि १२ वटै वडाका जनताको सुख दुःखमा आफू साथ रहेको भन्नुहुँदै नगरको विकास तथा जनताको सुख सुविधामा कहिले पनि कुनै कमी रहन नदिने प्रतिबद्धता प्रकट गर्नुभयो ।
नगरसभाका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादवले जलेश्वर नगरपालिका ऐतिहासिक नगरपालिका रहेको भन्नुहुँदै यस नगरपालिकाको गरिमा र गौरब बढाउन सधैं ऐतिहासिक कामहरु गर्न सल्लाह दिनुभएको थियो । साथै उहाँले मधेश प्रदेश सरकारले यस नगरपालिकाको सहयोग गर्न सधैं तत्पर रहने बताउनुभएको थियो ।
जलेश्वर नगरपालिकाले आयोजना गरेको बजेट प्रस्तुती कार्यक्रममा पहिलो पटक पूर्व मेयरहरु, उपमेयरहरु, ंसंघीृय साँसदहरु अन्य विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्वहरुलाई समेत बोलाएर सम्मान गर्नुका साथै सबैका समक्ष धुमधामका साथ बजेट प्रस्तुती कार्यक्रम सम्मपन्न गरिएको थियो ।
जलेश्वर नगरपालिकाको ईतिहासमा पहिलो पटक यस प्रकारले बजेट प्रस्तुत गरिएको थियो भने उपस्थित व्यक्तित्वहरु निक्कै हर्षित देखिएका थिए ।
Discussion about this post