जलेश्वर । पिपरा गाउँपालिकाले कृषि मार्फत किसानलाई आत्मनिर्भर बनाउने नीति पास गरेको छ ।
आगामी आर्थिक वर्षमा पिपराका किसान लक्षित कार्यक्रम सञ्चालनका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।
पालिकाका ७ वटै वडामा विद्युतीकरण गरेर सुख्खाग्रस्त क्षेत्रमा पम्पिङ प्रविधि मार्फत सिंचाईको सुविधा पुर्याइने छ ।
विद्युत प्राधिकरणसँग समन्वय गरेर पिपराभित्र थप ३२ वटा ट्रान्सफर्मर जडान गरेर कृषि मिटर राख्ने र कृषि मिटर मार्फत किसानका खेतबारीमा सिंचाई सुविधा दिने पालिकाको योजना छ ।
अन्य साझेदार नियकासँग सहलगानीमा सञ्चालन हुने सिंचाई योजना, हेडवर्क तथा नहरको व्यवस्थित निर्माणका लागि बजेट छुट्याइएको छ ।
कृषि मार्फत किसानको समृद्धिलाई संस्थागत गरेर स्थानीय स्तरमै कृषि उपज र उद्योगको स्थापना गरेर युवालाई रोजगारीको अवसर सिर्जना गरिने गाउँपालिका अध्यक्ष यादवले बताए ।
कृषि र पशुपालनमा स साना पकेट कार्यक्रम सञ्चालन, आर्थिक अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन १ करोड बजेट विनियोजन गरिएको छ ।
पिपरामा महिला शसक्तिकरणका योजनाहरु अघि बढ्ने भएक छन् ।
विगतका वर्षहरुमा सञ्चालित कार्यक्रमलाइृ थप व्यवस्थित बनाउँदै महिला तथा युवा लक्षित तालिम, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालनमा जोड दिइएको छ ।
गाउँपालिकाले अन्य विभिन्न विषयगत क्षेत्रमा लोकप्रिय नीति कार्यक्रम र बजेट ल्याएको छ ।
गाउँपालिका अध्यक्ष रामजानकी यादवको अध्यक्षतथा तथा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न ११ औँ गाउँसभा उद्घाटन सत्रमा पूर्वमन्त्री हरिनारायण यादव, पालिका उपाध्यक्ष वन्दना पाण्डे, प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी, प्रहरी उपरीक्षक प्रकाश मल्ल, जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मंडलसहितका सरोकारवाला उपस्थित थिए ।
कार्यक्रमका वत्ताहरुले पिपराका जनप्रतिनिधिले गाउँपालिकाको विकास र समृद्धिसँग जोडेर नागरिकको हितमा रचनात्मक काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
मधेश प्रदेशका धेरैजसो स्थानीय तहहरुमा नीति तथा कार्यक्रम ल्याउन र सभाबाट बजेट पास गराउने विषयमा विवाद हुने गरेको छ ।
पिपरा गाउँपालिका भने समयमै लोकप्रिय बजेट ल्याएर उदारणीय बनेको छ ।
Discussion about this post