धनुषा। सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी प्रमुख र डीएसपी सहितका प्रहरीहरु विरुद्ध किटानी जाहेरी परेको छ ।
आफूहरुलाई प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाकी २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी हुन् ।
जाहेरी दिने मनिषा गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहकी बहिनी हुन् ।नगराइनका विनोदप्रसाद साहकी छोरी मनिषाले धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का, डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साहसहितका प्रहरीविरुद्ध जिल्ला हुलाक कार्यालय धनुषाबाट जिल्ला सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी पठाएकी हुन् ।
त्यसअघि पीडित परिवार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ एसपी विश्वराज खड्काले प्रहरीमाथि कुटपिट र अन्याय गरी उल्टै आफूहरुलाई थप पीडा दिएकाले हुँदै नभएको घटनाको जाहेरी नलिने प्रतिक्रिया दिएका थिए ।त्यसपछि आरतीका परिवार सरकारी वकिलको कार्यालय पुगेका थिए ।
त्यहाँ समेत जाहेरी नलिएपछि मनिषाले हुलाकबाट पठाएकी छिन् ।उनीहरुलाई एड्भोकेसी फोरम नेपालबाट आधिवक्ता कुमारप्रसाद थपलिया र सूचना अधिकृत विन्देश दहालले सहयोग गरेका थिए । मनिषासँगै उनका भाइ प्रेम, हजुरबुबा रामअशिष साहसहित गएका थिए ।
बयानको लागि बोलाएर प्रहरी कार्यालयमा आफ्नो परिवारका सदस्यमाथि दिएको चरम यातनामा संलग्न प्रहरीलाई कारबाहीको माग जाहेरीमा गरिएको छ ।आरती मृत्यु प्रकरणको मिसिल सरकारी वकिल कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा थप बयानको लागि फर्काएपछि जेठ ३२ गते माइत पक्षका सदस्यलाई बोलाइएको थियो ।
जाहेरीमा उल्लेख ब्यहोरामा दिउँसो १२ बजे पुग्दा प्रहरीले सुरुमा आमा निर्मलाको बयान लिएका थिए । दिएको बयान र प्रहरीको लिखतमा फरक परेको भन्दै हस्ताक्षर गर्न नमान्दा प्रहरीले कुटपिट यातना दिनुको साथै दिउँसो ३ बजेदेखि राति १० बजेसम्म थुनामा राखेको जाहेरीमा उल्लेख छ ।बयानका लागि आमा निर्मला, बुबा विनोद, बहिनी मनिषा, भाइ प्रेम र मामा सन्तोष प्रहरीमा पुगेका थिए । प्रहरीले लेखेको बयानमा पाँचैजनालाई जबरजस्ती सही छाप गर्न कर गरेको र नमान्दा डीएसपी गौतमसहितका प्रहरी कर्मचारीले कुटपिटसहित थुनेर शारीरिक तथा मानसिक यातना दिएको उल्लेख छ ।
दिदीको मृत्यु पश्चात विभिन्न निकायमा उजुरी जाहेरी किन दिएको, बयानमा किन हस्ताक्षर नगरेको भन्दै डीएसपी गौतमले हातले आफ्नो घाँटी न्याकेर उचाली भूँइमा बजारेको, लछारपछार गरेको, देब्रे कञ्चटमा झापडले र लात्तीबुटले तल्लो पेटमा हिर्काएको, गम्भीर चोटको कारण रक्तश्राव भएको, देब्रे कान नसुन्ने गरेको जाहेरीमा मनिषाले उल्लेख गरेकी छन् ।
प्रहरीबाट छुटेपछि राति प्रादेशिक अस्पताल जनकपुरमा गराएको उपचारको घाउजाँच फारम, निलडामको तस्वीर पनि जाहेरमा संलग्न छ ।एकजना कार्की थर भएका प्रहरी इन्सपेक्टर, सई जयप्रकाश ठाकुर, नाम थाहा नभएका दुईजना महिला प्रहरी र अन्य प्रहरीहरुले आफूलाई रक्तश्राव भइरहँदा कपाल समातेर घसारेको, झापडले हिर्काउने क्रम जारी राखेको, आफ्ना भाइ प्रेमलाई बुट र बन्दुकको कुनाले हिर्काउँदा अवस्था सिकिस्त भएर बान्ता गरेको, जुता निकालेर फोहोर मोजा सुँघाइएको, आमाको नाक कानमा लगाएको गहना दुईजना प्रहरीले अमानवीय ढंगले थुतेर थुनुवा कक्षमा लगेको, बुबा र मामालाई जथाभावी लातबुट र झापडले हानी थुनामा राखेर चरम यातना तथा अमानवीय व्यवहार गरेको उनको जाहेरीमा उल्लेख छ ।त्यस्तै राति साढे ९ बजे एसपी खड्काले आमा बुबासहित सबैलाई थुनाबाट निकालेर पार्किङस्थलमा लगि आरतीको विषयमा विभिन्न संस्थामा किन उजरी दिएको भन्दै गालीगलौज गरेको उल्लेख छ ।
कुटपिट तथा यातनाको विषयमा कतै उजुरबाजुर गरे ज्यानमार्ने धम्की दिँदै एसपी खड्काले आफ्नो खुट्टा आमाबुबालाई ढोग्न लगाएको, त्यस क्रममा आमाबुबा भक्कानिएर पीडाले रोएको जाहेरीमा दाबी गरिएको छ ।
आफ्नो परिवारको सदस्यको शंकास्पद मृत्यु हुँदा सत्य जान्न खोज्नु, अनुसन्धानका लागि राज्यका सरोकारवाला अंग तथा संस्थाहरू गुहार्नु, सूचना माग गर्नु, उजुरी र निवेदन दिनु जस्ता सामान्य प्रयत्न जो कोहीले कानुनी अधिकारको प्रयोग गर्दा उल्टै पीडित परिवारलाई निर्ममतापूर्वक यातना दिएर प्रहरीले कसूर गरेकोले कानुन बमोजिम कारबाहीको माग दाबी जाहेरीमा गरिएको छ ।
आरती ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन् । गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
आरतीको माइती पक्षले मोतीबाबु, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साह विरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो । तर प्रहरीले सुरुमा आत्महत्या देखिएको भन्दै आत्महत्या सम्बन्धी दुरत्साहन कसूरमा जाहेरी दिन कर गरेको आरोप छ । तर माइत पक्षले हत्या भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान कायम राख्दा प्रहरीले अनुसन्धानमा पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुबैजनाविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
दुई वर्षअघि मात्रै मोतीबाबु र आरतीको विवाह सामाजिक परम्परा अनुसार भएको थियो । विवाहमा दाइजोसहित २५ लाख रुपैयाँ खर्च गरेको माइत पक्षको दाबी छ । पछि थप दाइजो माग्दै छोरीलाई यातना दिने गरेको र अन्तमा हत्या नै गरेको माइतपक्षले दाबी गर्दै आएको छ ।केही दिनअघि माइत पक्षले प्रहरीमाथि कारबाही र छोरी आरतीको न्यायको माग गर्दै काठमाडौं पुगेर माइती घर मण्डलामा धर्ना दिँदै आएका थिए ।
धनुषा प्रहरीले आरतीका माइत पक्षले आफूहरुमाथि कुटपिट तथा दुर्व्यवहार गरी पीडित बनाएको दाबी गरेको छ ।
सत्यतथ्य अनुसन्धान गरी मुद्दा दायर गर्दा नै आरतीका पति र ससुरा पुर्पक्षका लागि जेल चलान भएको एसपी खड्काको तर्क छ ।‘हामी आरतीको न्यायकै लागि लडिरहेका छौं । आज सत्यतथ्य अनुसन्धान गर्दा नै अदालतको आदेशमा पति र ससुरा जेल चलान भएका छन् । हामी आफ्नो दायित्व कर्तव्यबाट अलिकति पनि विमुख भएका छैनौ’, एसपी खड्काले भने ।
उनले आरतीको माइत पक्षले नाटकीय ढंगबाट दबाब सृजना गर्दा आफूहरु अन्यायमा परेको बताए । उनका अनुसार जेठ ३२ गते बयानको क्रममा मोबाइलबाट फोटो भिडियो लिन खोजेको र नलिन आग्रह गर्दा उनीहरुले नमानेपछि रोक्ने प्रयास गर्दा प्रहरीमाथि कुटपिट तथा ज्यादती गरेको तर्क एसपी खड्काको छ ।
त्यसक्रममा ६ जनाप्रहरीमाथि आरतीको परिवारले कुटपिट तथा दुव्र्यवहार र कार्यालयमा तोडफोड गरेको उनको दाबी छ ।
प्रहरी इन्सपेक्टर दिनेश अधिकारी, नवराज खड्का र विक्रम साह, सई जयप्रकाश यादव, प्रहरी सहायक हवल्दार सुस्मिता राई, महिला प्रहरी गोमा थापा, डीएसपी गौतमका सुरक्षा गार्ड हनुमान राई माथि हातपात तथा दुर्व्यवहार भएको खड्काले बताए ।उनले कुनै प्रहरीले उनीहरुमाथि कुटपिट नगरेको, महिलामाथि पुरुष प्रहरीले जिउमा समेत नछोएको दाबी गरे । मृतक परिवारलाई थप पीडामा के पार्नु भनेर उनीहरुमाथि मुद्दा नचलाई छाडिएको एसपी खड्काको तर्क छ ।
Discussion about this post