जनकपुरधाम । आकाशे वर्षा रोकिँदा सर्लाहीका किसान पप्पसेट अर्थात् दमकल चलाएर धान रोपाइँ गर्न बाध्य भएका छन् ।
सिँचाईका लागि प्रत्येक किसानले आ–आफ्नो खेतमा पप्पसेट चलाइरहेका छन् । जिल्लामा पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणतर्फ पर्याप्त आकाशे वर्षा नभए पप्पसेट चलाएर रोपाइँ गर्ने गरिन्छ । तर, राजमार्गदेखि उत्तर र चुरेभेगमा भने पप्पसेट चलाए पनि पानी आउँदैन् ।
ती क्षेत्रमा केही स्थानमा कुलोको पानी लागेपनि धेरैजसो ठाउँमा आकाशे वर्षा कुरेर रोपाइँ हुने गरेको स्थानीयले बताएका छन् । पानी पर्न छाडेर टन्टलापुर घाम लाग्न थालेपछि सबैभन्दा बढी चुरेभेगकै वासिन्दा मारमा परेका छन् । त्यस क्षेत्रमा रोपाइँ नै रोकिएको छ ।
पानी पर्न छाडेर कुलोमा पानी घटेपछि पानीकै लागि विवाद पर्न थालेको हाम्रा संवाददाताहरुले जनाएका छन् । सर्लाहीमा आज पनि टन्टलापुर घाम लागिरहेको छ । ४÷५ दिन अघिको झरीले सबैतिर रोपाइँ सुरु भएकोमा अहिले आएर पानी पर्न रोकिएपछि किसान समस्यामा परेका छन् ।
बागमती र मनुष्मारा नहरको पानी लाग्ने पश्चिमी भेगमा भने धमाधम रोपाइँ जारी छ । धानको ब्याड ठिक्क तयार भएको र आलिभित्ता समेत भइसकेकाले अब बेस्सरी एक झर पानी परे यहाँका अधिकांश किसानले रोपाइँ सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
तपाईको प्रतिक्रिया !