राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
दुबै पक्षको जिकिरपछि सोमबार सप्तरी जिल्ला अदालतबाट यस्तो अनुमति प्रदान गरिएको छ ।
योसँगै नागरिकता कसुर सम्बन्धी मुद्दामा उपप्रमुख मीरालाई थप अनुसन्धान गर्न चौथो पटक ७ दिनको म्याद थपिएको छ ।
यसअघि अदालतले असार २१ गते तीन दिन, असार २४ गते पाँच दिन र असार २८ गते चार दिन उपप्रमुख मीरालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेको थियो ।
नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको आरोपमा उनी विरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । असार १९ गते पक्राउ पुर्जी जारी भएपछि उनी त्यसको भोलिपल्टै बजार क्षेत्रमा शक्ति प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।
सोही मुद्दाका अर्का आरोपि उनका पति महेन्द्र अझै फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक नरेन्द्र कुमारी कार्कीले जानकारी दिए ।
उपप्रमुख मीरा र उनका पति महेन्द्र विरुद्ध भारत बिहारस्थित मझारी ग्रामपञ्चायतको वासिन्दा रहेको दाबी गर्दै ०७९ साल साउन ७ गते उजुरी परेको थियो । उनीहरुमाथी झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोप छ ।
Discussion about this post