जलेश्वर । महोत्तरीको जलेश्वरमा मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामाको माग गर्दे सचेत युवाहरुको समूहले प्रदर्शन गरेका छन् ।

प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट मनिषा भारद्वाजको सरुवा गरिएको विषयलाई लिएर युवाहरुले अस्पतालका अध्यक्ष मिनु झा र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विरुद्ध नाराबाजी गरेका छन् ।

मुख्यमन्त्री यादव र अध्यक्ष झाविरुद्ध विभिन्न नारबाजी गर्दै अस्पताल विकास समितिका अध्यक्ष झाको कक्षमा तालाबन्दी गर्न पुगेका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएका प्रहरी टोलीले तालाबन्दी गर्नबाट रोकेपछि दुबै पक्षबीच घम्साघम्सी भएको थियो ।

युवाहरुले अस्पतालका अध्यक्ष झा, मुख्यमन्त्री यादव र प्रहरी विरुद्ध पनि विभिन्न नाराबाजी गरेका थिए ।

प्रहरीले तालाबन्दी गर्नबाट रोकेपछि युवाहरुले अस्पतालको परिसर र मुख्य गेटबाट करीब एक घण्टासम्म नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

युवाहरुले करीब २ साता अघि मात्रै प्रदेश सरकारले जलेश्वर अस्पताललाई १०० बेडको अस्पताल घोषणा गरेको र मेडिकल सुपरिटेन्डेन्टले राम्रो सेवा दिइरहेको अवस्थामा एक्कासी उनको सरुवा गरेपछि अस्पतालमा महिला सम्बन्धी विभिन्न रोगको उपचारमा समस्या भएको आरोप लगाएका छन् ।

उनीहरुले महिलालाई सुत्केरीको बेला गरिने शल्यक्रिया, अल्ट्रासाउण्ड सेवा र महिला सम्बन्धी सम्पूणर् सेवा प्रभावित बनेको आरोप लगाएका छन् ।

यस सन्दर्भमा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट भारद्वाजसँग सोधपुछ गर्दा उहाँले आफू यसअघि जलेश्वर अस्पतालमा काजमा रहेको र अहिले अस्पताल १०० बेडमा स्तरोन्नति भएपछि आफ्नो दरबन्दी जलेश्वर अस्पतालमै कायम गराउन गएको बेला आफूलाई मुख्यमन्त्रीले सरुवा पत्र नै थमाइएको बताए ।

यसैबीच, सचेत युवाहरुको समूहले मुख्यमन्त्री तथा सम्बन्धित निकायले तत्कालै मेसु भारद्वाजको सरुवा रद्द गरेर जलेश्वर अस्पतालमा समर्पित भएर सेवा दिइरहेकी उनको दरबन्दी यही कायम गरेर जलेश्वर अस्पतालको जिम्मेवारी उहाँकै हातमा दिनुपर्ने माग गरेका छन् ।