स्मृति मिश्र
धनुषा । कुनै बेला ‘५२ कुट्टी ७२ कुण्ड’को नामले प्रख्यात जनकपुरधाममा पानीको अभाव हुन थालेको छ । केही दशकयता गर्मीयाममा सहरका चापाकललगायत भूमिगत पानीका अन्य स्रोत सुक्ने र भएका स्रोतबाट कम पानी आउने समस्या भए पनि यस वर्ष भने खाने पानीको चरम अभाव भएको छ ।
विज्ञहरूका अनुसार बर्खा अभावमा भूमिगत जल पुनर्भरण नहुँदा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रलगायत वरपरका स्थानमा खाने पानीको चरम अभाव हुन थालेको हो । पानीका स्रोत सुक्न थालेपछि र खानेपानीको वैकल्पिक व्यवस्थापन नहुँदा स्थानीय काकाकुल बनेका छन् ।
जनकपुरधामका अनुसन्धानकर्ता डा. विजयकुमार सिंहले पानीको प्राकृतिक स्रोत चुरेक्षेत्रको दोहन र जनकपुरधामका धार्मिक महत्त्वका प्राचीन पोखरी तथा सरोवरहरूमा केही वर्षयता सौन्दर्यीकरण एवम् व्यवस्थापनका नाममा बनाइएका अनुपयुक्त र अवैज्ञानिक संरचनाका कारण भूमिगत जल पुनर्जलीयकरण र पुनर्भरण बाधित हुँदा पानीको समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले सडकलगायतका भौतिक पूर्वाधारका संरचना प्रकृतिमैत्री नहुँदा पनि भूमिगत जल पुनर्भरणमा कठिनाइ उत्पन्न भइरहेको औंल्याउनुभयो ।
जलवायु परिवर्तन, चुरेक्षेत्रको पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा परेका प्रतिकूल असर, भूमिगत जलपुनर्भरणका परम्परागत अभ्यासहरूको विस्थापन आदिका कारण पानीको सतह गहिरिँदै जाँदा सहरमा पानी अभाव भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भू–अतिक्रमण, अनुचित भूउपयोग, वनविनाश, ढुङ्गा, गिट्टी तथा वालुवा उत्खनन् आदिका कारण चुरे तथा भावरक्षेत्रमा बर्खाको पानी नअड्दा साथै चुरे नदी प्रणालीमा ढुङ्गा, गिट्टी तथा बालुवा थेग्रिएर खोलाहरू खहरे हुँदा तराईमा पुनर्जलीयकरण हुन नसकिरहेको बताउनुभयो ।
जनकपुरधाममा पानी समस्याको दीर्घकालीन समाधानका लागि चुरे नदी प्रणाली संरक्षण गरी खोल्साखोल्सी, खहरे र गल्छीमा चेकड्याम बनाएर पाइपलाइनमार्फत जनकपुरधामसम्म पानी ल्याउने योजना कार्यान्वयन गर्न जुट्नुभएका उपमहानगरप्रमुख साहले सहरमा उपयोग भइसकेको पानी भूमिगत पुनर्भरण गरी संरक्षित गर्ने योजना नहुँदा पानीको समस्या थप विकराल भएको उल्लेख गर्नुभयो ।
दुई दशकअघिसम्म मुस्किलले सय फिटमुनिबाट पानी निकाल्न सकिने स्थिति रहेको जनकपुरधाममा अहिले झण्डै चार सय ५० फिटमुनिमा पानी प्राप्त हुने अवस्था छ । तर वैशाखयता बर्खा नहुँदा पाँच सय फिटमुनिसम्म पाइप गाडिएका चापाकलबाट समेत पानी आउन छाडेको छ ।
जनकपुरधामका बासिन्दाले बिहान र बेलुका घण्टौं मोटर चलाई चापाकलबाट पानी तान्ने गरेका छन् । मधेश प्रदेशका सांसद ममता मण्डलले धेरैबेरसम्म मोटर चलाए पनि कम मात्रामा पानी आउने आम जनाताको गुनासो रहेको बताउनुभयो । सांसद भण्डलले भन्नुभयो, ‘‘‘जलाशयको सहर जनकपुरधाममा जल किनेर पानी खानुपर्ने अवस्था छ ।’’
जलसङ्कटपछि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले सहरका विभिन्न ठाउँमा डिप बोरिंग गरी जल वितरण गर्ने योजना बनाएको छ । तर पानी वितरण गर्ने योजना कार्यान्वयनमा ढिलाइ हुँदा काकाकुल स्थानीयले राहत पाएका छैनन् । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले भन्नुभयो, ‘‘डिप बोरिंग गर्ने ठाउँको छनोट भइसकेको छ । खानेपानी कार्यालयसँग समन्वय गरेर काम अघि बढ्दैछ । अहिलेका लागि पानी उपलब्ध गराउने बाटो यही नै हो ।’’
जानकारहरूका अनुसार डिप बोरिंग गरिए पनि जनकपुरधाममा खानेपानी आपूर्ति सञ्जालको पहुँच ८ प्रतिशत घरधुरीसम्म मात्र भएकाले पानी वितरणमा कठिनाइ हुनेछ । तर उपमहानगर प्रमुख साहले चुरेबाट पानी ल्याउँदा वा तत्काल बोरिंगको पानी वितरण गर्न संरचना विस्तारका लागि खानेपानी कार्यालयसँग औपचारिक सहमति नै भइसकेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पानी समस्या हुन नदिने गरी तयारी थालिएको उल्लेख गर्नुभयो ।
पानी सङ्कट समाधानका विषयमा मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र अन्य सम्बद्ध सरकारी अधिकारीहरूसँग आज (शुक्रबार) परामर्श बैठक राखेको छ । प्रदेश गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले जलसङ्कट समाधानका लागि प्रदेश सरकारले तत्काल गर्नुपर्ने कामका विषयमा परामर्श बैठकमा घनीभूत छलफल गरिने र बैठकबाट प्राप्त निचोडका आधारमा तत्काल गर्नुपर्ने काम सम्पादनमा तत्परता लिइने बताउनुभयो ।
Discussion about this post