राजविराज : नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण कुमार देवले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आत्मालोचना नगरेसम्म बार्तामा नबस्ने जिकिर गरेका छन ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा प्रजिअ थापा र प्रहरी प्रमुख नरेन्द्र कुमार कार्की विरुद्ध प्रदर्शनपछि शुक्रबार आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले प्रेस स्वतन्त्रता विरोधी कार्यमा कसैसँग सम्झौता गर्न नसक्ने बताएका हुन ।
अध्यक्ष देवले नेपालको संविधानलाई चुनौती दिने गरि प्रेस स्वतन्त्रता विरुद्ध सूचना जारी गर्ने सिडिओ थापाले गल्ती स्वीकार गरि माफी माग्नु पर्ने जिकिर गरे ।
हाम्रो आन्दोलन पछि सिडिओ कार्यालयले प्रेस स्वतन्त्रता विरोधी सूचना फिर्ता लिएर बार्ताको आव्हान गर्नु सकारात्मक रुपमा लिएका छौ, उनले भने, आत्मालोचना सहित सूचना फिर्ता लिनुपर्ने आफुहरुको १ सुत्रीय माग पुरा नभएसम्म बार्तामा बस्दैनौ ।
उनले बार्ताको आव्हानको नाटक गर्ने र बार्ताको बाताबरण विगार्ने सिडिओ थापाको प्रवृत्ति आपत्तिजनक रहेको टिप्पणी गरे । पत्रकार महासंघको आन्दोलनको कार्यक्रम जारी रहेको बताउदै अध्यक्ष देवले शान्तिपुर्ण आन्दोलनबाट माग सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
नेपाल पत्रकार महासंघका सल्लाहकार मनोहर कुमार पोखरेलले संविधान उल्लंघन गर्ने सिडिओलाई कारबाही गर्न माग गरे । उनले तानाशाही सिडिओको उर्दीबाट सप्तरीका पत्रकार आफ्नो पेशाबाट रत्तिभर विचलित नहुने बताए ।
जिल्लाकै सुरक्षित ठानिएका जिल्ला प्रहरी परिसर भित्र पत्रकारमाथी कुटपिट हुनु, जिल्ला प्रशासन कार्यालयमा प्रवेशमा रोक लगाउनु साथै फोटो भिडियो खिच्न र पत्रपत्रिका, अनलाईन मिडिया तथा टिभीमा प्रकाशन प्रसारण गर्न बन्देज गर्ने कार्य प्रेस स्वतन्त्रता विरोधी कार्य भएको उनले स्पष्ट पारे ।
उनले पत्रकार कुट्ने प्रहरी र पत्रकारलाई दुर्व्यवहार गर्ने सिडिओमाथी कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई कार्यालय परिसरमा अनुमति बिना फोटो, भिडियो नखिच्न भनेर बुधबार सार्वजनिक सूचना जारी गरेपछि सप्तरीका पत्रकारहरुले बिहीबारदेखि जारी आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिएका छ्न ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधबार सूचना जारी गर्दै बिना अनुमति प्रशासन कार्यालय परिसरको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राख्न नपाइने सूचना जारी गरेका थिए ।
उक्त सूचना संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको विरुद्ध भएको नेपाल पत्रकार महासंघ सप्तरीले ठहर गर्दै आन्दोलन थालेका छ्न ।
। प्रेस स्वतन्त्रता विरोधी सप्तरीका सिडिओ मुर्दावाद, संविधानको रक्षा गर, प्रेस स्वतन्त्रता कायम गर, पत्रकारलाई दुर्व्यहार र कुटपिट गर्ने प्रहरीलाई कारबाही गर, सप्तरीका सिडिओ र प्रहरी प्रमुख एसपीलाई कारबाही गर लगायतका विभिन्न चर्का नारा लगाउदै नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडिबाट निस्केको पत्रकारहरुको विरोध र्याली राजविराज नगरका विभिन्न भागको परिक्रमा गर्दै जनआन्दोलन चौक ( नेता) चौकमा पुगेर कोणसभा गरि समापन गरिएको थियो ।
कोणसभाको संचालन पत्रकार महासंघ सप्तरीका सचिब रामनारायण विश्वासले गरेका थिए । पत्रकार महासंघ सप्तरीले शुक्रबार सातदिने थप चरणबद्व आन्दोलन घोषणा गरि निरन्तरता दिएका छ्न ।
Discussion about this post