जनकपुरधाम । गाई/गोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरधामका साधु सन्तहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार जानकी मन्दिरका उतराधिकारी महन्त रामरोशन दास वैष्णवले गाई/गोरु काटेर मासु खानेलाई नेपाल सरकारले कानुन बमोजिम कडा कारबाही नगरे चुप नबस्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।
महन्त दासले भने, ’नेपालमा गाईलाई माता सरह पूज्यनीय छन् । हामी साधुसन्तसहित हिन्दू समाजले गाई/गोरुलाई माता मानेर पूजा गर्छौ । तर धरानमा केही व्यक्तिहरूले गाई/गोरुलाई काटेर सामूहिक भोज गरे ।
यसरी गाई/गोरुलाई काटेर मासु खानेहरुलाई सरकारले कारबाही नगरे अब हामी साधुसन्त समाज र जनकपुरवासी चुप्प बस्नेवाला छैनौ । हामीहरू आन्दोलनमा उत्रनेछौँ र त्यसको सम्पूणर् जिम्मेवारी नेपाल सरकारकै हुनेछ ।’
‘नेपालको विभिन्न ठाउँमा हिन्दू धर्मप्रतिको ठाँडो हस्तक्षेप स्वरूप गाँईगोरुको हत्या भएको छ, त्यसका अपराधीहरूलाई कानुनी कारबाहीको लागि माग गर्दछु,’ उनले भने ।
हिन्दूसहित साधुसन्त समाजले केही गर्न सक्दैन भनेर नबुझ्न र नसोच्न पनि उनले चेतावनी दिए ।
केही दिनअघि धरानमा केही व्यक्तिहरूले गाई/गोरु काटेर सामूहिक भोजकै आयोजना गरेका थिए । ती सामूहिक भोजको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
Discussion about this post