बहुचर्चित आरती साह मृत्यु प्रकरणमा धनुषा जिल्लाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रकाश गौतमले मनिषा साहमाथि हातपात गरेको भन्दै आएको समाचारमा कुनै सत्यता नरहेको सरोकारवालाहरुले दावी गरेका छन् ।

घटनालाई नजिकबाट नियालेका जनकपुरधामका सामाजिक अभियन्ता होस कि पत्रकार मनिषाको पेटमा प्रहरी अधिकारीद्वयले लात्तीले हानेको विषयलाई अतिरञ्जित घटना बताएका छन् ।

कतिपय राजनीतिककर्मीहरुले आरतीको रहस्यमय मृत्युपछि प्रहरीले कानूनी रुपमा प्रक्रिया अगाडि बढाएको र दुई जनालाई तत्काल पक्राउ गरी कारवाही बढाइरहँदा पनि आरतीको मामा भनिने सन्तोष जो व्यक्ति केहि दिन पहिला नै जबरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए उसैले आफ्नो रिसिवी साध्न मात्रै मनिषालाई उक्साएर दवावमा प्रहरी अधिकारी विरुद्ध विष वमन गर्न लगाएको आशंका व्यक्त गरेका छन् ।

त्यस्तै यस आरती प्रकरणमा प्रहरी परिसरमै महिलामाथि अन्याय हुनु र कसैले पनि थाहा नपाउनु भन्ने हुनै नसक्ने प्रहरी कार्यालयमा दिनहुँ हुने भीडभाडले नै पुष्टि गर्दछ । अहिले सम्म मानवअधिकारकर्मी तथा पत्रकारहरुले गरेको अध्ययन अनुसार पीडितपक्ष र प्रहरीबीच छलफल भइरहँदा नियम विपरीत पीडित पक्षबाट भिडियो खिच्न लाग्दा प्रहरी जवानले मोबाइल खोसेको र सो क्रममा सामान्य धक्का मुक्कि भएको स्रोतको दावी छ ।

यदि मनिषालाई मरनासन्न गरी नै प्रहरीले कुटेका थिए भने उनी कसरी धर्ना र प्रदर्शनमा निरन्तर देखिएकी छिन् । काखिमा लात्तिले हानेपछि मनिषा अस्पतालमा भर्ना हुनु पर्ने हो मेडिकल चेकअप गराउनु पर्ने थियो तर त्यस्तो केहि पनि नहुँदा मनिषाले प्रहरी अधिकारीद्वयमाथि लगाएको आरोप मिथ्या र राजनीतिक षडयन्त्रले प्रभावित हुन सक्ने संकेत प्रष्ट रुपमा देखिएको छ ।

आरती साहको मृत्यु यदि हत्या हो भने दोषीमाथि कडा भन्दा कडा सजाय हुनै पर्नेमा कसैको दुई मत छैन । त्यस्तै मनिषामाथि यदि कुनै मानवअधिकारको उलंघन भएको छ भने उसले पनि न्याय पाउनै पर्छ तर कसैमाथि आरोप लगाउँदा प्रमाण हुनु पर्छ घटना भएको हुनु पर्छ तर जुन हिसाबले काठमाण्डुको माइतीघरमा आन्दोलन थालेपछि मनिषाले केहि संचारमाध्यमा एसपी खड्का र डीएसपी गौतममाथि गंभीर आरोप लगाउँदै अभिव्यक्ति दिएकी छन् ।

जसको कारण एसपी र डीएसपीको तस्वीरमा आन्दोलनकारीहरुले थुथु मात्रै गरेनन् समग्र राष्ट्रमै ठूलो भिलेनकै रुपमा चिनिन थाले अधिकारीद्वय । के यसको प्रभावले उनीहरुको मनोबल मात्र खसेको हो र मानसिक रुपमा कति धेरै पीडा भोगेका छन् भन्नेबारे कसले सोंचिदिने भन्ने यक्ष प्रश्न हामी सामु खडा भएको छ ।

के पीडितको मात्रै मानवअधिकार हुन्छ र के प्रहरी मनुष्य होइन, यदि हो भने उनीहरुको मानवअधिकार खोइ ? यी प्रश्नहरु मात्र होइन घटना हुने बित्तिक्कै दर्जनौ संचारमाध्यम र अनुहार पुस्तिकामा भाइरल गरेर आरतीलाई न्याय दिलाउने मरिहत्ते गरेका जनकपुरधामका पत्रकारहरुले मनिषाको दुखेसो नउठाउने विश्वास कसैले गर्ने अवस्था नै छैन ।तर जुन हिसाबले मनिषा अहिले दुखेसो पोख्दैछिन् त्यस हिसाबले यहाँ कुनै पनि संचारमाध्यममा मनिषाबारे कुनै अभिव्यक्ति नै आएको छैन ।

तसर्थ आरती मृत्यु प्रकरणको कानुन अनुसार प्रक्रिया अघि बढिसकेको र कानुनले नै दोषीलाई सजाय दिनु पर्नेमा कसैको दुई मत छैन तर मनिषाले एसपी र डीएसपीमा लगाएको गंभीर आरोपबारे निष्पक्ष छानबिन गरिनु पर्ने अहिलेको आवश्यकता रहेको छ ।