जनकपुरधाम। जनकपुरधाम स्थित स्थानीय महावीर युवा कमिटीले समाचार लेखिएको निहुँमा डेली एक्सप्रेस पत्रिका जलाएका छन् ।
बिहीवार ‘पार्क सौन्दर्यकरण र राजदेवी पूजा महावीरको कमाई खाने भाँडो’ भन्ने शिर्षकको प्रकाशित समाचारप्रति असहमति जनाउंदै शुक्रवार दिउंसो कमिटीका संस्थापक अध्यक्ष अरुणकुमार साह र वर्तमान अध्यक्ष अजय गुप्ता सहितका २०/२५ जनाको समूहमा कमिटीसँग आबद्ध व्यक्तिहरुले पत्रिकाका जलाएका हुन् ।
प्रकाशक एवं संचालक शंकर साहको घर अगाडि पत्रिका जलाएका कमिटीका पदाधिकारी सहितका व्यक्तिहरुले पत्रिकाका प्रकाशक एवं संचालक साह विरुद्ध नाराबाजी, हो हल्ला र गाली गलौज गर्दैसमेत गरेका छन् ।
समाचारप्रति असहमति भए कारवाहीको विभिन्न निकाय भएपनि पत्रिका जलाउनु गलत कार्य भएको भनी कमिटी विरुद्ध जनकपुरधाममा आलोचना भइरहेको छ ।
सरोकारवाला निकाय नेपाल पत्रकार महासंघ मधेश प्रदेश, नेपाल पत्रकार महासंघ धनुषा, प्रकाशक महासंघ र मधेशी पत्रकार समाज धनुषा लगायतका संघ संस्थाले समाचारप्रति आपति जनाउंदै कमिटीले पत्रिका जलाएको कार्यको ध्यानाकर्षण भएको जनाउंदै भत्र्सना गरेका छन् ।
डेली एक्सप्रेस पत्रिका जलाइएकोमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले पत्रिका जलाउने गलत कार्य हो, यसले ठाडो रुपमा नेपालको संविधान २०७२ को वाक एवं अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हो ।
नेपालको वभिन्न कानुनहरुले प्रदान गरेको प्रेस स्वतन्त्रता विरुद्ध हो ।
समाचार सँग चित नबुझेको खण्डमा समस्या समाधानको अन्य विकल्प रहँदा रहँदै पनि पत्रिका जलाउनु प्रेसमाथि बलपूर्वक बन्देज लगाउनु सरह हो ।
साथै उनले पत्रिका जलाइएपनि संचार माध्यममा निर्भिक रुपमा विभिन्न विकृति, भ्रष्टाचार र गुण्डागर्दी विरुद्ध कलम चलाउनुपर्ने र भयत्रासले प्रेस सेन्सरसीपमा जान नहुने बताए ।
यस्तै नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झाले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारलाई आधार बनाएर डेली एक्सप्रेसका प्रकाशक शंकर साहको निजी भवन अगाडि महावीर युवा कमिटीका पदाधिकारीहरु समेतको समूहले गाली गलौज, हो—हल्ला, नाराबाजी गर्दै पत्रिका जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालको संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ ।
पत्रपत्रिका वा विद्युतिय संचार माध्यममा प्रकाशित समाचार र विचारलाई आधार बनाएर धाकधम्की दिनु, भौतिक आक्रमण गर्नु पत्रपत्रिका जलाउने कार्य संविधानले प्रेसलाई प्रदान गरेको अधिकारको हनन् रहेको ठहरसहित घटनाको भत्र्सना गरेको छ ।
समाचारप्रति असहमति भए सम्बन्धित निकया मार्फत कारवाही गर्न लगाउने, कानूनी कारवाहीमा जाने विकल्प हुँदाहुँदै पत्रपत्रिका जलाउनु, प्रकाशकको घर अगाडि भेला भई गाली गलौज पत्रकारलाई धाकधम्की दिनु, तोडफोड गर्नु र पत्रिका पत्रिका जलाउने कार्य कानूनी राज्यको उपहास रहेको भन्दै घटनाको छानबीन गरी सम्बन्धित निकायसँग दोषीमाथि विज्ञप्तिमार्फत कारवाहीको माग गरेका छन् ।
प्रकाशक महासंघ नेपाल समेतका कार्यवाहक अध्यक्ष धर्म मण्डल र महासचिव उपेन्द्रभगत नागवंशीले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन ।
समाचारलाई आधार बनाएर पत्रपत्रिका जलाउनु भनेको नेपालको संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको अधिकार हनन् गर्ने कार्य रहेको भन्दै महावीर युवा कमिटीका पदाधिकारीहरुले समाचारको आधार बनाएर प्रकाशकको घर अगाडि गाली गलौज, हो हल्ला, नाराबाजी गर्दै पत्रिका जलाउने गरेको कार्यप्रति प्रकाशक महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यता मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण समेतले महावीर युवा कमिटीले डेली एक्सप्रेस पत्रिका जलाएको घटनाको भत्र्सना गर्दै कानूनले प्रेस स्वतन्त्रताको दिएको अधिकारलाई हनन् गर्ने कार्य रहेको ठहर गर्दै घटनाको छानबीन गरी दोषीमाथि कडा कारवाहीको सम्बन्धित निकायसँग माग गरेका छन् ।
Discussion about this post