उमेश कुमार साह :१५ कार्तिक बुधबार
सप्तरी – इलाका प्रशासन कार्यालय बोदे बर्साईनले हाल नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्।
यसअघि नायव सुब्बालाई कायममुकायम बनाएर इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरिएको भए पनि हाल उनलाई दिइएको कायममुकायम नदिएपछि नागरिकता वितरण कार्य रोकिएको हो।
इलाका प्रशासन कार्यालय, बोदे बर्साईनका प्रमुख दिनेश राउतले गृहमन्त्रालयले २०७७ साउन १६ गतेदेखि दिँदै आएको यसअघिको नागरिकतामा हस्ताक्षर गर्ने कायममुकायमको जिम्मेवारी २०८० साल असोज २५ गतेबाट लागु हुनेगरी नदिँदा नागरिकता दिने कार्य बन्द गरिएको बताए।
प्रमुख राउतले नागरिकता लिन आउने सेवाग्राहीहरूलाई आवश्यक कागजात मिलाएर सदरमुकाम राजबिराजमा रहेको जिल्ला प्रशासन कार्यालयमा पठाउने गरिएको बताए।
इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रदान गर्न बन्द गरिएपछि धेरै जना सेवाग्राहीलाई कागजातसहित राजबिराज पठाइएकाे छ।
इलाकाबाट नागरिकता दिन बन्द भएपछि दक्षिणी क्षेत्रका डाक्नेश्वरी नगरपालिका ,पश्चिम बलान बिहुल गाउँपालिका तथा बोदे बर्साईन नगरपालिकाका सेवाग्राहीले एक हप्ता समय लगाइ नागरिकता प्राप्त गर्नुपर्ने अवस्था छ।
उनले सम्बन्धित व्यक्तिलाई आवश्यक कागजात बोकाएर थप सहयोग गरेर जिल्लामा पठाउने र प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला ब्याक्तीले नागरिकतामा हस्ताक्षर गरेपछि मात्र सेवाग्राहीले नागरिकता पाउने गरेको बताए।
इलाका प्रशासन कार्यालयमा अधिकृत स्तरको दरबन्दी भए पनि गृहमन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन।
बलान बिहुल गाउँपालिकाको गाउँबाट झन्डै २ घण्टा हिँडेर बोदे बर्साईन आइपुगेका जय राम मन्दलले काम नबनेपछि आफु रित्तै घर फर्केको बताए।
यसअघि इकाला प्रशासन कार्यालयबाट नागरिकता वितरण गरिँदा नगरपालिका र गाउँपालिकाका हजारौं संख्यामा सेवाग्राहीले नागरिकता सहज रूपमा प्राप्त गरेका थिए ।
Discussion about this post