उमेश कुमार साह:१३ मङ्सिर :बुधबार
सप्तरी – नेपाल–भारत सीमा क्षेत्र बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ काचन सोनापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन उद्घाटन गरिएको छ।
बोदे बर्साईन नगरपालिका–८ काचन सोनापुरमा निर्माण गरिएको बीओपी भवनको उद्घाटन गरिएको हो। एक वर्षअघि स्थापना गरिएको बीओपीमा भवन नहुँदा समस्या हुँदै आएको थियो।
कार्यक्रमका प्रमुख अतिथि द्वारा नवनिर्मित भवनको सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले उद्घाटन गरेका हुन्।
बोदे बर्साईन नगरपालिका –८ को सोनापुरमा बीओपी स्थापनाका लागि स्थानीयवासी , हिरालाल यादव ,कमल देव यादव र कामेश्वर यादवले गरि ९ कठ्ठा ६ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए।
सोही जमिनमा भवन निर्माणपछि बस्न सहजसमेत भएको छ । सेवा प्रदान गर्नसमेत सहज हुने बाहिनीपति शाहले बताए। नेपाल–भारत सीमामा विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले एक वर्षअघि बीओपी स्थापना गरिएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापा, नेपाली सेना बरखदल गणका गणपति प्रमुख सेनानी रमेश पाण्डे, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्य , सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हे.क्वा. सप्तरीका गणपति सप्रउ श्री धन बहादुर सिंह
, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख उप-अनुसन्धान निर्देशक श्री सुरेन्द्र कोईराला , सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हे.क्वा. सप्तरीका सहायक गणपति सशस्त्र प्रहरी नायब उपरिक्षक श्री मोहनराज विष्ट , सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाद सिग्देल , बि.ओ.पि.काचन सोनापुरलाई जग्गा दान गर्नु हुने जग्गा धनि हिरालाल यादव, कमल देव यादव, कामेश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नायब महानिरीक्षक शाहले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले कुनै कन्जुस्याईं नगर्ने बताए। उनले सीमा क्षेत्रमा बीओपी स्थापना भएपछि सीमा सुरक्षा मजबुत बन्दै जाने विश्वास व्यक्त गरे।
सोनापुरमा सशस्त्र प्रहरीको ब्यारेक भवन निर्माण गरिएको हो। यसअघि ती क्षेत्रमा सशस्त्र प्रहरी अस्थायी संरचनामा बस्दै आएको थियो । करिब रु ८४ लाख ९६ हजार लागतमा भवन निर्माण गरिएको हो। अन्य सीमा क्षेत्रमा पनि चाँडै भवन निर्माण गरिने लक्ष्य लिइएको छ।
अन्य ठाउँमा पनि नगरपालिका र गाउँपालिकाले संयोजन गरेर जग्गा उपलब्ध गराएको हो। वडा अध्यक्ष बैधनाथ चौधरीले सशस्त्र प्रहरी सीमा क्षेत्रमा बस्न थालेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सिमासुरक्षा बल बलियो भएको बताए।
Discussion about this post