काठमाडौं । पत्रकार राजकरण महतोलाई काठमाडौंमा दुव्र्यवहार गरिएको छ । काठमाडौंको तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामक गाडीका कन्टेक्टर र चालकले पत्रकार महतोलाई दुर्व्यवहार गरेको हो ।
अन्नपूर्णापोष्ट दैनिकका डेक्समा कार्यरत पत्रकार महतो शनिवार कोटेश्वरबाट पैदल तीनकुने जाने क्रममा ती गाडीका कन्टेक्टर र चालकले बिनाकारण ‘भैंया’ भनेर अभद्र व्यवहार र गालीगलोज गर्दै उनीमाथि कुटपिटको प्रयास गरेको पीडीत महतोले ले बताए ।
‘बिनाकारण मेरो अपमान गर्दै कुटपिटसमेत गर्न खोजेकाले मेरो ज्यानको सुरक्षा खतरामा परेको छ । यसले स्वतन्त्र भई काम गर्दै आएको मजस्तो स्वाभिमानी पत्रकारको आत्मसम्मानमा चोट पुगेको छ,’ उनले भने ।
पत्रकार महतोले सार्वजनिक अभद्र व्यवहार तथा गाली बेइज्जती कसुरमा दोषीहरूलाई पक्राउ गरी घटनाको अनुसन्धान गर्न प्रहरी वृत्त नयाँ बानेश्वर र मधेसी आयोगमा उजुरी समेत दर्ता गराएका छन् ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव समेत रहेका पत्रकार महतो विगत अढाई वर्षदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन् ।
उनी अन्नपूर्ण पोस्ट दैनिकको सिनियर रिपोर्टरको रुपमा कार्यरत छन् । शनिवार कोठाबाट तीनकुनेस्थित अफिस जाने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।
काठमाडौं बसाइको अढाई वर्षको अन्तरालमा समाचार संकलनका लागि फिल्डमा खटिँदा आधा दर्जनभन्दा बढी पटक सडक, बजार, चोकमा आफू र आफूसँग रहेका आफन्तजनहरूले लगाएको पोसाक, अनुहार, र बोलेको बोलीका आधारमा ‘भैया’, ‘बिहारी’, ‘मर्सिया’ भनेर दोस्रो दर्जाको नागरिकको रूपमा लिई अपमान गर्दै आएको उनको तितो अनुभव छ ।
उनले घटनाको बारेमा मधेशी आयोगका अध्यक्ष डा. बिजय दत्त र प्रहरी बृत्त कार्यालय बानेश्वरका डीएसपी शिवराज बुढाथोकीलाई जानकारी गराई दुई कार्यालयमा उजुरी दर्ता गराएको बताए । महतो भने, ‘अध्यक्ष डा. दत्तले न्यायका लागि पहल गर्ने बताउनुभयो । र डीएसपी बुढाथोकी गाडी, गाडीका चालक र कन्टकटरलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको बताउनुभयो ।’
Discussion about this post