जनकपरधाम । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँकेको मातहतमा पर्ने चौलीका पोस्टमा खटिएका एक हवल्दार मादक पदार्थ सेवन (दारु) खाएर ड्युटीमा बसेको तथा तस्करहरूसँग मिलेमतो गरेको आरोप लागेको छ।
चौलीका पोस्टमा असई भण्डारीको कमाण्डमा खटिएका हवल्दार सेरे सोनार मापसे अवस्थामा रहेर ड्युटी गर्दै आएका छन्। उनले स्थानीय नागरिकहरूलाई अनावश्यक रूपले दुःख दिने, उनीहरूले ल्याएका घरायसी प्रयोजनका लागि सामान खोस्ने तथा अवैध सामान ओसारपसार गर्ने तस्करहरूसँग सेटिङ गरेर तिनलाई सहज रूपमा सामान पार गरिदिने गरेको आरोप छ।
स्थानीयका अनुसार हवल्दार सोनारले रातिको समयमा तस्करहरूलाई चौलीका पोस्ट पार गर्न सघाउने र सो को बदलामा आर्थिक लाभ लिने गरेको बताइएको छ। उनी मापसे गरेर सुरक्षाको संवेदनशील जिम्मेवारीमा खटिनु मात्रै होइन, ड्युटीको समयमा व्यक्तिगत फाइदाका लागि तस्करीलाई बढावा दिनेसम्मको गतिविधिमा संलग्न भएको खुलेको छ।यस घटनाले सशस्त्र प्रहरी बलको छवि धुमिल बनाएको भन्दै स्थानीयहरू आक्रोशित छन्। सुरक्षामा खटिएका व्यक्तिहरू नै गैरकानुनी क्रियाकलापमा संलग्न हुनु गम्भीर विषय भएको भन्दै सम्बन्धित निकायलाई कारबाहीका लागि स्थानीयले मांगगरेका छन।
३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँके सशस्त्र प्रहरी उपरीक्षक एसपी शोभा नाथ खनालले घटनाको अनुसन्धानमा यदि हवल्दार सोनार दोषी ठहरिए कडा कारबाही गरिने बताएका छन्। “सुरक्षाकर्मीहरूबाट कुनै पनि अनैतिक गतिविधि सह्य हुने छैन। यदि कसैले गलत कार्य गरेको प्रमाणित हुन्छ भने संगठनबाट आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ,” एसपी खनालले बताए।