काठमाडौं । पोखराबाट आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किने र उनका समर्थकले ‘भव्य’ स्वागत गर्ने तयारीका बीच सुरक्षा परिचालनलाई त्यहीअनुसार व्यापक बनाइने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।
एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार काठमाडौंमा नेपाल प्रहरीले ‘आवश्यक मात्रा’मा फौज परिचालन गर्न लागेको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।
कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन दिइने छैन’, अधिकारीले भने, ‘विभिन्न युनिटका प्रहरी कर्मचारी त्यसका निम्ति तैनाथ हुनेछन् ।’
तर पूर्वराजा शाह कतिबेला काठमाडौं आइपुग्ने भन्नेबारे केही जानकारी नभएको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।