काठमाडौँ : काठमाडौं महानगरपालिकाको सात महिनापछि बसेको कार्यपालिका बैठक १ मिनेट ८ सेकेन्डमा सकिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार स्थानीय तहको कार्यपालिका बैठक महिनामा एकपटक अनिवार्य बस्नुपर्ने हुन्छ ।

तर, काठमाडौं महानगरपालिकामा भने प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादले सात महिनापछि कार्यपालिका बैठक शुक्रबार बसेको हो ।

सात महिनापछि बसेको बैठक पनि लामो चल्न सकेन । बैठकमा प्रमुख शाहले २४ वटा एजेन्डा रहे पनि एउटा एजेन्डामा मात्रै निर्णय लिइएको जानकारी दिएका थिए । ‘काठमाडौं महानगरपालिकाको ४० ‍औँ कार्यपालिका बैठकमा उपप्रमुख, कर्मचारी साथीहरू, कार्यपालिका साथीहरू सबैलाई स्वागत गर्न चाहन्छु,’ शाहले भनेका थिए, ‘एजेन्डामा २४ वटा गएको भए पनि आज एउटा मात्र एजेन्डा राख्ने कुरा भएको छ । प्रस्ताव नम्बर १ मा रहेको काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभा अधिवेशन मिति तोक्ने सम्बन्धमा मिति २९ गते दिउँसो २ बजे नगरसभा र बिहान ९ बजे कार्यपालिका बस्ने जानकारी गराउन चाहन्छु ।’

शाहले अन्य केही विषय नभएकाले बैठक सम्पन्न गर्न चाहन्छु भन्दै बैठक टुंग्याए ।

त्यसपछि उपप्रमुख सुनिता डंगोलले बजेट तर्जुमा समितिको बैठक आजै बस्ने जानकारी गराएकी थिइन् । त्यतिबेलासम्म महानगरप्रमुख शाह भने बैठक कक्षबाट बाहिरिइसकेका थिए ।

असार १० भित्र ल्याइसक्नुपर्ने महानगरपालिकाको बजेठ मसान्तसम्म पनि ल्याउन नसकिएको अवस्थामा कार्यपालिका बैठक बोलाइएको हो । अब २९ गते काठमाडौं महानगरको बजेट आउने भएको हो ।