जनकपुरधाम । जनमत पार्टीबाट निस्कासित भएका नेताहरुले जनस्वराज पार्टीको घोषणा गरेका छन् ।

असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निष्कर्ष निकाल्दै ई.दिपक साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको हो ।

बैठकले पुराना दलहरू आत्मकेन्द्रित, विभाजनकारी मानसिकता बोकेका कारण जनताको आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड भएको ठहर गर्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीको गतिविधि अगाडि बढाउन डा. संजयकुमार साह संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादव संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ ।

पार्टीका संयोजक डा.साह जनमतमा वरिष्ठ उपाध्यक्ष थिए भने आर्थिक विभाग प्रमुख बनेका यादव कोषाध्यक्ष थिए । अन्य विभागहरु चाँडै गठन गर्ने संयोजक साहले बताएका छन् ।

पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, सम्मानजनक अधिकार र अवसर, महिला, युवा, दलित, मुस्लिम, किसान, श्रमिक लगायत विपन्न वर्गको सशक्तीकरण तथा स्थानीय स्वायत्तता सहितको कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ ।