जनकपुरधाम । स्थानीय बजारमा बिक्री–वितरण भइरहेको दूधको शुद्धता र गुणस्तर जाँच गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले डेरी बजारमा अनुगमन अभियानलाई थप तीव्र पारेको छ। दुधको स्वच्छता, मिठाइपन, फ्याट स्तर, पानी मिसावट तथा गुणस्तर मापदण्ड पूरा भए–नभएको विषयमा विस्तृत परीक्षण गरिएको कार्यालयले जनाएको छ।

शहरका विभिन्न वार्डमा सञ्चालन भइरहेका डेरी तथा दूध बिक्री केन्द्रहरूमा गरिएको परीक्षणले उपभोक्तालाई शुद्ध र सुरक्षित दूध उपलब्ध गराउने उद्देश्यअनुसार काम भइरहेको अनुगमन टोलीले जानकारी दिएको छ।

अनुगमनका क्रममा राजीव डेरी (देशी दूध घर जनकपुरधाम–१), आदेश दूध बिक्री केन्द्र–११, र टुपे डेरी लगायतका केही डेरी तथा दूध बिक्री फर्म बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ। साथै गंगा देवी दूध डेरी फर्म पनि दर्ताविहीन अवस्थामा भेटिएको अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका रमेश दाहाल, प्रवीण कुमार तिवारी, प्रदीप संगोला, जनकपुरधाम उद्योग वाणिज्य संघका परमेश्वर साह,राम जीवन साह, जिल्ला प्रशासन कार्यालयका सुनिल झा, तथा पशु सेवा विज्ञ केन्द्रका विनोद पाण्डे लगायतका प्रतिनिधिहरू सहभागी रहेका थिए।

कार्यालयले उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै दूध तथा डेरी उत्पादनको शुद्धता सुनिश्चित गर्न यस्तो बजार अनुगमन अभियान निरन्तर जारी रहने जनाएको छ।