जानकी मन्दिरमा पूजाआजादेखि गंगासागरमा अर्घ्यसम्म, रवि लामिछाने दम्पतीले गरे धार्मिक स्थलहरूको दर्शन

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामसहित धनुषा र महोत्तरी जिल्लाका विभिन्न प्रसिद्ध धार्मिक तथा ऐतिहासिक मन्दिरहरूको दर्शन गरेका छन्।

आइतबार बिहान जनकपुरधाम आइपुगेका लामिछाने दम्पतीले सबैभन्दा पहिले प्रसिद्ध जानकी मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका थिए।

त्यसपछि उनीहरू धनुषा र महोत्तरी जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा पुगेर पूजाआजा गरेका थिए।

धनुषा निर्वाचन क्षेत्र नं. ३ का सांसद मनिष झाको सचिवालयका अनुसार लामिछाने दम्पतीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिरमा दर्शन गरेका थिए। त्यसैगरी महोत्तरीको जलेश्वरस्थित प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा समेत पुगेर पूजाआजा गरेका थिए।

धार्मिक स्थलहरूको दर्शनपछि लामिछाने दम्पती जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीस्थित छठघाट पुगेका थिए। त्यहाँ उनीहरूले मिथिलाको लोकआस्था र परम्परासँग जोडिएको छठ महापर्वमा सहभागी हुँदै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।

मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेका मन्दिरहरूमा राष्ट्रिय राजनीतिक नेतृत्वको भ्रमणले जनकपुरधामसहित धनुषा र महोत्तरीका धार्मिक स्थलहरू पुनः चर्चामा आएका छन्।

छठ पर्वको अवसरमा भएको यस धार्मिक भ्रमणले मिथिलाको मौलिक संस्कृति, परम्परा र धार्मिक पर्यटनको महत्त्वलाई समेत उजागर गरेको छ।