सुनसरी । सुनसरीको भाण्टाबारीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा शनिबार बस दुर्घटना हुँदा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४९८८ नंको बस आफैँ अनियन्त्रित भई दुर्घटना हो । दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पताल इनरुवा उपचारका लागि ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । दुर्घटनामा परि अन्य २२ घाइते समेत भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ ।

त्यस्तै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका २ मा हिजो बेलुकी सिटी सफारी र मोटरसाइकल आपसमा ठोकिदा ६ जना घाइते भएका छन् । को ३८ प ९२ ८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–००२ ह ९७ ७४ नम्बरको सिटी सफारी हिजो बेलुकी ८ बजे आपसमा ठोकिएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक, सिटी चालक सहित ६ जनालाई उपचारको लागि विराटनगर पठाइएको छ । घाइते मध्ये सिटी चालक स्थानीय रियाज अन्सारी, सिटीमा सवार सोही ठाँउका नम्छेदी मिया र बानो खातुनको अवस्था भने गम्भीर रहेको बुझिएको छ ।

त्यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका ८ ललका पुल नजिकै गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । गण्डक हेल्थ केयर विरगंजमा उनको उपचार भैरहेको छ ।

घाइतेको नाम थर खुल्न बाँकी रहेको छ । गएराति साढे १० बजे ना ६ प ७७०५ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको ईलाका प्रहरी कार्यालय जितपुरले जानकारी दिएको छ ।