जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकारी कारखानाहरु दलाल पूँजीपतिहरुलाई बेच्ने काम मात्र भएको बताएका छन् ।

समाजबादी ट्रेड युनियन महासंघ मधेस प्रदेश समिति शनिवार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मजदूर आन्दोलनकै कारण देशमा राजनीतिक परिवर्तन आए पनि उनीहरुको अवस्थामा सुधार आउन नसकेको बताएका छन् ।

२००७ सालको संघर्षमा राणाको सैनिक फौजलाई समेत मजदूरहरुले लडाई लडेर परास्त गरेको चर्चा गर्दै अध्यक्ष यादवले भने ‘देशमा लोकतान्त्रिक परिवर्तन आउनुमा श्रमिक मजदूरको ठूलो भूमिका छ तर उनीहरुको हक हित तथा अवस्थामा सुधार आउन नसक्नु दुःखद् हो ।’ प्रजातन्त्र स्थापना पश्चात गठित काँग्रेस कम्युनिष्ट सरकारले देशमा रहेका सरकारी स्वामित्वका उद्योगहरूलाई ध्वस्त बनाएका कारण श्रमिकहरुको अवस्था दयनीय बनेको दावी गरे ।

काँग्रेस कम्युनिष्ट निकट ट्रेड युनियनका नेताहरु श्रमिकको सट्टा राजनीतिक दल र मालिकहरुको दलालीमा ब्यस्त भएको अध्यक्ष यादवले टिप्पणी गरेका छन् । अध्यक्ष यादवले समाजवादी ट्रेड युनियनका नेताहरुलाई त्यस्ता प्रवृत्तिबाट जोगिदै मजदुरको पक्षमा आवाज बुलन्द गर्न आग्रह गर्दै उनले भने ‘निजीकरणको नाउँमा सरकारी कारखानाहरु दलाल पूँजीपतिहरुलाई बेचिदियो, ती कारखानाहरु अबिलम्ब सञ्चालन हुनु आवश्यक छ ।’

परम्परागत रुपमा चल्दैआएको कृषि क्षेत्रलाई आमूल परिवर्तन गरी आधुनिकीकरण गर्दै उत्पादनमूलक एवम् प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड समेत दिएका छन् ।