काठमाडौँ । अबको केही बेरमै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यस्तै, सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ । हिजो नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकमा सभापतिको आकाङ्क्षीबीच कुरा मिल्न नसक्दा सहमति हुन सकेको थिएन ।

आज बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने यो समूहका नेताहरुले बताएका छन् । कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा शेखर कोइराला सभापतिको आकाङ्क्षी छन् ।