काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् ।

विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले महाधिवेशन उद्घाटनका लागि २ सय ५० जना अट्ने मञ्च बनाएको छ ।

मञ्चमा तीन लहर हुनेछन् । पहिलो लहरमा ४० जनासम्म कलाकारले एकैपटक प्रस्तुति राख्न सक्नेछन् । यसैगरी, दोस्रो लहरमा पार्टीका शीर्ष नेता तथा अन्य दलका प्रमुख र विदेशी पाहुना राख्ने गरी मञ्च व्यवस्थापन गरिएको काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए । उनका अनुसार तेस्रो लहरमा पार्टीका केन्द्रीय सदस्य तथा अन्य अतिथिहरूलाई व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

यसैगरी, मञ्च पछाडि एउटा एलईडी डिजिटल बोर्ड र दायाँबायाँसमेत गरी तीनवटा डिजिटल बोर्ड राखिएको छ । यस्तै भृकुटीमण्डप बाहिर सडकमासमेत दुईवटा डिजिटल बोर्ड रहनेछ ।