मोरङ । स्कुटर सडक डिभाइडरमा ठोकिदा चालकको मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका २ टंकीमा हिजो बेलुकी स्कुटर सडक डिभाइडरमा ठोकिदा मोरङकै उर्लाबारी नगरपालिका ४ आइतबारेका २६ वर्षीय चालक सुरज खनालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जानकारी दिएको छ । हिजो बेलुकी ८ बजे प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिएको जनाइएको छ ।

त्यस्तै, मोरङकै विराटनगर ११ रामपुर चोकमा पनि हिजो बेलुकी सवा सात बजे को २ त ७१३९ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ३४ वर्षीय मुन्ना कुमार सहनीको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।