काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माला लगाएर काँग्रेस महाधिवेशनको उद्घाटन गरेका हुन् ।

शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा काँग्रेसको १४औँ महाधिवेशन शुरु भएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् पार्टी सभपाति शदेउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टीका उपसभापति विमलेन्द्र निधि र विजय गच्छदार ,पार्टीका महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, सहमहाम्नत्री प्रकाशशरण महत, सुनील थापासँगै केन्द्रीय कमिटी र शुभेच्छुक एवम् भातृ संस्थाका अध्यक्षसँगै देशभरका प्रतिनिधिको उपस्थिति रहेको छ ।

त्यस्तै, उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सीपी मैनाली, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देनका साथै काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आएका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।