काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि मतदान शुरु भएको छ ।

१४ औँ महाधिवेशन अन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न मतदान गरेको हो। सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धा भने देउवा र कोइरालाबीच हुने निश्चित छ । मतदान बेलुकी पाँच बजेसम्म चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । कांग्रेस विधानअनुसार, सभापतिमा विजयी हुन ५० प्रतिशत मत कटाउनुपर्छ ।

कुनै उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुन्छ । पहिलो चरणबाटै विजयी हुनेमा देउवा समूह आशावादी छ ।