जनकपुरधाम । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको मतदनमा कुनै पनि उम्मेदबारले ५० प्रतिशतभन्दा बढी मत ल्यान नसकेपछि पुनः मतदान हुन भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ ।

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतको आवश्यक्ता थियो । दोस्रो स्थानमा डा।शेखर कोइरालाले १७२९ मत, तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले मात्र २० मत पाएका छन् ।

दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसकेका छन् भने प्रकाशमानले के गर्छन् भन्ने अझै खुलेको छैन । तथापि उनले मत माग्ने बेलामा नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन हुनेपर्नेमा जोड दिएका थिए ।

मधेशले एक मात्र मधेशी मूलका सभापतिको उम्मेदबार बिमलेन्द्र निधिको परिणामलाई बडो महत्वपूर्ण साथ हेरिरहेका छन् । प्रदेश २ कै ८ जिल्लाबाट करिब ८ सय महाधिवेशन प्रतिनिधि छन् ।