जनकपुरधाम, मंसिर २८ ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका प्रदेश २ अध्यक्ष एवम् प्रदेश २ सभामा संसदीय दलका नेता जितेन्द्र सोनल अख्तियार अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री हुँदा उनले चर्को कमिसन लिएर बस खरिद र उपभोक्ता समितिमार्फत निर्माणकार्य गराएका भन्दैे अख्तियार अनुसन्धान आयोगले उनीमाथि छानबिन सुरु गरेको छ ।

आयोगले मन्त्रालयबाट २७ वटा फाइल नियन्त्रणमा लिएर सोनलले मन्त्रीका रुपमा गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध अध्ययन अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले जनाएको छ ।

तत्कालीन भौतिक पूर्वाधार मन्त्री सोनलले प्रदेश परविहन संञ्चालन गर्ने भनी खरिद गरेको पाँचवटा बस अहिले प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेस भवनमा थन्किएका छन् । बस खरिद तथा परिवहन सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नै नगरी बस खरिद हुँदा परिवहन सञ्चालन नहुँदा बसको यान्त्रिक अवस्था जीर्णशीर्ण भएको छ ।

 

मन्त्री हुदा सोनलले पार्टीका नेता तथा कार्यकर्ता पाल्न बजेट विनियोजन तथा काम वितरण गर्र्दै आएका थिए । निकटका पात्रमार्फत सरकारी काम गराउँदा कमिसन पनि आउने र गोप्यता भंग नहुने भएकाले उनले पार्टीमा आफूनजिकका व्यक्तिहरुलाई काम दिँदै आएका थिए । उनकै पालामा पार्टीका नेता बिपी यादवलगायत थप दुई व्यक्ति भौतिक पूर्वाधार विकास मन्त्रालयका काम गर्दा भ्रष्टाचार गरेको ठहर भई अहिले जेलजीवन व्यतीत गरिरहेका छन् ।

अख्तियार स्रोतका अनुसार तत्कालीन मन्त्री सोनलका पालामा भएका अधिकांश काममा खरिद ऐन मिचिएको, अन्य विधि र प्रक्रिया नपुगेको र मिलेमतेमा काम भएको देखिएको छ । अख्तियारका एक अधिकारीले भने पूर्वमन्त्री सोनलका बेला भएका कामका बारेमा छिट्टै अनुसन्धान सकाई अनियमितता देखिए विशेष अदालतमा मुद्दा दायर गरिने बताए ।