काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि ६७ देशबाट नेपाल आउने यात्रुले अब सात दिनसम्म होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

शुक्रबार साँझ अध्यागमन विभागले ओमिक्रोन भेरियन्टको जोखिम कम गर्न भन्दै मलेसियासहित ६७ देशबाट आउने यात्रुलाई सात दिनम्म होटेल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड तयार पारेर सूचना जारी गरेको छ ।

होटेल क्वारेन्टिनको खर्च यात्रुहरू आफैँले बेहोर्नुपर्ने बताइएको छ । सात दिनपछि कोरोना परीक्षण गराउनुपर्ने हुन्छ । नतिजा नेगेटिभ आएमा पनि फेरि सातदिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।

कोरोना पोजिटिभ देखिएमा भने आइसोलेसन सेन्टर वा अस्पताल भर्ना हुनुपर्ने छ । ओमिक्रोन भाइरस अहिलेसम्म ६७ भन्दा बढी देशमा फैलिसकेकाले नेपालमा समेत सतर्कता अपनाउन सुरु गरिएको छ ।