जकपुरधाम । प्रदेश २ मा ३३.२१ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएका छन् ।

नेपाल सरकारको लक्षय पुस मसान्तसम्ममा ६६ प्रतिशतलाई खोपको पूर्ण डोज दिने रहेपनि प्रदेशमा अपेक्षा अनुसार हुन सकेको छैन् ।

प्रदेश २ मा १८ वा सो भन्दा बढी उमेरका ४१ लाख ६० हजार ४२७ जनालाई कोरोना खोप दिने लक्ष्य रहेकोमा अहिलेसम्म १३ लाख ८१ हजार ५९५ जनाले खोपको पूर्ण डोज लिएका छन् ।

त्यस्तै प्रदेशमा हालसम्म ३९.७० प्रतिशन जनसंख्याले कोरोनाको भ्याक्सिनको पहिलो डोज लिएका छन् । प्रदेशमा हालसम्म १६ लाख ५१ हजार ६०७ जनाले कोरोना विरुद्धको भ्याक्सिनको पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए ।

सर्लाहीमा सबैभन्दा बढी ३६.८६ प्रतिशत नागरिक अर्थात २ लाख १९ हजार ६५५ जनाले कोरोना विरुद्धको भ्याक्सिनको दुवै डोज लिएका छन् । भने पहिलो डोज ४६।७० प्रतिशत नागरिकले लिएका छन् ।

सप्तरीमा लक्षित जनसंख्या ४ लाख ७१ हजार ९७७ रहेकोमा त्यसको ३४.५४ प्रतिशत अर्थात १ लाख ७३ हजार २६२ जनाले कोरोनाको भ्याक्सिनको दुबै डोज लिएका छन् । पहिलो डोज ३६।७३ प्रतिशन नागरिकले लिएका हुन् ।

धनुषामा ५ लाख ५९ हजार २५२ जना लक्षित नागरिक रहेकोमा त्यसको ३३.८५ प्रतिशत नागरिकले दुबै डोज लिएका छन् भने ३८.९८ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पर्सामा लक्षित जनसंख्याको ३३.४४ प्रतिशतले दुबै डोज लगाएका छन् भने ४१.२४ प्रतिशतले पहिलो डोज लगाएका छन् । पर्सामा अहिलेसम्म १ लाख ५९ हजार ५५२ जनाले खोपको दुबै डोज लिएका छन् ।

बारामा ३३.११ प्रतिशत नागरिकलाई दुबै डोज दिइएको छ भने ४२.९६ प्रतिशतले पहिलो डोज लगाएका छन् । सिरहामा ३३ प्रतिशत नागरिकले कोरोना विरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका छन् भने पहिलो डोज ४१.५८ प्रतिशतले जनाएका हुन् ।

महोत्तरीमा ४ लाख ७१ हजार ७०५ जना लक्षित जनसंख्या रहेकोमा त्यसको ३१.१३ प्रतिशत नागरिकले दुबै डोज लगाएका छन् । ४३.५८ प्रतिशत नागरिकले पहिलो डोज लगाएको तथ्यांक छ ।

रौतहटमा सबैभन्दा कम नागरिकले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । रौतहटमा लक्षित जनसंख्याको २९.४१ प्रतिशन नागरिकले कोरोना भ्याक्सिनको पूर्ण डोज लगाएका छन् भने २६.१६ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

प्रदेश २ मा हालसम्म कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनिका, जोनसन एण्ड जोनसन र फाइजर खोप दिइएको हो । जोनसन एण्ड जोनसन खोप बाहेक अन्य सबै खोपको दुई डोज दिने गरिएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक झाले अहिले पनि नागरिकहरु भ्याक्सिन लिन नआइरहेको बताए । उनले भने, ‘सुरुमा उमेर अनुसार मात्र दिइनथ्यो, त्यसपछि सबै उमेर समुहका नागरिकलाई दिइएपनि सुरुमा कतिले डरका कारण लगाएनन् ।’

निर्देशक झाले पुस सम्म ६६ प्रतिशन नागरिकलाई भ्याक्सिन दिने लक्ष्य रहेपनि अहिले ठिक आधी जनसंख्या मात्र रहेको बताए । भ्याक्सिन दिइएपनि पालिकाहरुबाट रेकर्ड प्राप्त नभएका कारण समेत भ्याक्सिन लिनेको संख्यामा कमी देखिएको उनले बताए ।